ह्याण्ड सर्जन डा. सिलु श्रेष्ठ-
मानिसको शरीरका हरेक अंगको आफ्नै विशेषता र महत्व हुन्छ । तीमध्ये हात सबैभन्दा बढी प्रयोगमा आउने र जिबिकोपार्जनसँग प्रत्यक्ष जोडिएको अंग हो । लेख्ने, समाउने, काम गर्ने, इशारा गर्ने—दैनिक जीवनका अधिकांश गतिविधि हातबिना सम्भव हुँदैनन् । तर यति महत्वपूर्ण अंगमा लागेको चोटपटकलाई धेरैले ‘सानो चोट’ ठानी बेवास्ता गर्ने गरेको पाइन्छ । यही बेवास्ताले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्छ ।
हात मानव शरीरको सबैभन्दा ‘युनिक’ अंगमध्ये एक हो । मानिसलाई अन्य जीवभन्दा फरक बनाउने प्रमुख कारणमध्ये हात पनि एक हो । हातले राम्रोसँग काम गर्न विभिन्न प्रकारका नशा, मांसपेशी, हड्डी र लिगामेन्टले एकआपसमा समन्वय गर्नुपर्छ । हातको चोटपटक, नशा, मांसपेशी, हड्डी र छालासँग सम्बन्धित जटिल समस्याको उपचार गर्ने विशेष विधिलाई ह्याण्ड सर्जरी भनिन्छ । यसै विषयमा केन्द्रित रहेर हामीले ह्याण्ड सर्जन डा. सिलु श्रेष्ठसँग गरिएको कुराकानीको केहि सम्पादित अंशः
ह्याण्ड सर्जरी के हो ?
हात तथा पाखुरासम्म (माथिल्लो अंग) देखिने कुनै पनि समस्या—जस्तै हड्डी, नशा, मांसपेशी, टेन्डन, रगतका नली र छालासम्बन्धी रोग वा चोटको उपचारलाई ह्याण्ड सर्जरी भनिन्छ । विश्वमै ह्याण्ड सर्जन जनशक्ति धेरै पुरानो होइन । विकसित देशहरूमा पछिल्लो केही दशकयता यसलाई छुट्टै विशेषज्ञता रूपमा विकास गरिएको हो । नेपालमा भने अर्थोपेडिक र प्लास्टिक सर्जनहरूले वर्षौंदेखि हातसम्बन्धी उपचार गर्दै आएका छन् । पछिल्लो समय भने यसै क्षेत्रमा केन्द्रित भएर ह्याण्ड सर्जरीको विकास हुँदै गएको छ ।
कुन अवस्थामा ह्याण्ड सर्जरी आवश्यक पर्छ ?
हातदेखि पाखुरासम्मका जन्मजात विकृति (हात जोडिएको, औंला बढी वा कम हुनु, बाङ्गो औंला), चोटपटकपछि बिग्रिएको हात, नशा काटिएको, टेन्डन नचल्ने, औंला नबांगिने वा नसोझिने जस्ता समस्यामा ह्याण्ड सर्जरी आवश्यक पर्छ । ह्याण्ड सर्जनले माइक्रोस्कोप प्रयोग गरेर सुक्ष्म नशाको उपचार गर्न सक्ने भएकाले जटिल समस्या समाधान गर्न सकिन्छ ।
ह्याण्ड सर्जरी कसरी गरिन्छ ?
ह्याण्ड सर्जरी केवल शल्यक्रिया मात्र होइन, पुनःस्थापना पनि हो । लक्ष्य भनेको बिरामीलाई सम्भव भएसम्म चोटपटक अघि जस्तै अवस्थामा फर्काउनु वा कम्तीमा दैनिक जीवन सहज बनाउनु हो । हातका नलीहरू अत्यन्तै मसिना हुने भएकाले नाङ्गो आँखाले देख्न गाह्रो हुन्छ । हचुवाका भरमा गरिएको उपचारले राम्रो नतिजा नआउन सक्छ । ह्याण्ड सर्जनले विशेष सुक्ष्म उपकरण र माइक्रोस्कोप प्रयोग गरेर शल्यक्रिया गर्ने भएकाले उपचारको सफलता दर उच्च हुन्छ ।
अस्पताल नपुग्दासम्म के गर्ने ?
हातमा चोट लागेपछि धेरै रगत बगेको देखेर आकस्मिक कक्षमा नशा कसेर बाँध्ने गरिन्छ । यसले छोएको थाहा पाउने र औंला चलाउने नशा क्षतिग्रस्त हुन सक्छ ।
हात काटिएमा:
- हातलाई माथि उठाएर राख्ने
- सफा कपडा वा गजले राम्रोसँग प्याक गर्ने
- औंला वा हात पुरै चुडिएको भए गिलो कपडामा बेरेर प्लास्टिक ब्यागमा राखी आइस बक्समा ल्याउने
- यसो गर्दा हात जोडिने सम्भावना बढ्छ । चोटपटक लागेपछि सकेसम्म चाँडो अस्पताल पुग्नु र सम्भव भए अस्पतालसँग पहिल्यै सम्पर्क गर्नु अत्यन्तै प्रभावकारी हुन्छ ।
कति समयमा अस्पताल पुर्याउनुपर्छ ?
चोटको प्रकारअनुसार समय फरक हुन्छ । तर जति छिटो अस्पताल पुर्याइयो, त्यति नै उपचार सफल हुने सम्भावना बढ्छ ।
- नाडीभन्दा माथि काटिएको हात: राम्रोसँग आइसमा राखेर १०–१२ घण्टाभित्र
- नाडीभन्दा तल काटिएको हात: सकेसम्म ६ घण्टाभित्र
- ढिला भएमा सर्जरी सफल हुने सम्भावना कम हुँदै जान्छ ।
ह्याण्ड सर्जन र अन्य उपचारबीचको फरक
हातको संरचना अत्यन्तै जटिल हुन्छ । सानो चोटले पनि नशा, टेन्डन, लिगामेन्ट र हड्डी सबै प्रभावित हुन सक्छ । ह्याण्ड सर्जनले हड्डी फिक्स गर्ने, टेन्डन सिलाउने, नशा जोड्ने र छाला ढाक्ने सम्पूर्ण तालिम पाएका हुन्छन् । त्यसैले ह्याण्ड सर्जनबाट उपचार गराउँदा हातको कार्यक्षमता जोगिने सम्भावना बढी हुन्छ ।
काटिएको हात जोडिने सम्भावना कति ?
यो चोटको प्रकृति, उमेर, अस्पताल पुग्न लागेको समय र बिरामीको स्वास्थ्य अवस्थामाथि निर्भर गर्छ । छुराले सफा रूपमा काटिएको र समयमै अस्पताल पुगेको अवस्थामा सम्भावना बढी हुन्छ । ६० वर्षभन्दा माथिका, मधुमेह, उच्च रक्तचाप भएका, धूम्रपान गर्ने, ढिला अस्पताल पुगेका वा हात माटो–धुलोले दूषित भएका बिरामीमा सफलता दर कम हुन्छ ।
कति पटक सर्जरी गर्नुपर्छ ?
धेरैजसो एकै पटक सबै काम सकिन्छ । तर कहिलेकाहीँ चरणबद्ध रूपमा सर्जरी गर्नुपर्छ । रगत जम्ने वा नली बन्द हुने अवस्थामा २४ घण्टाभित्र पुनः शल्यक्रिया गर्न सकिन्छ ।
नेपालमा विशिष्ट स्वास्थ्य जनशक्तिको अवधारणा नयाँ भएकाले ह्याण्ड सर्जरीबारे आम मानिस कम जानकार छन् । पहिला जनरल सर्जनले हातका समस्या हेर्ने गर्थे । पछि अर्थोपेडिक सर्जरी विकास भयो । अर्थोपेडिक सर्जनले नै ह्याण्ड सर्जनको काम गरिरहेकाले छुट्टै ह्याण्ड सर्जरीको पहिचान कम देखिएको हो । यसका साथै नेपालमा ह्याण्ड सर्जनको संख्या पनि अत्यन्तै कम हुनु अर्को कारण हो ।
हात हाम्रो जीवनको अत्यन्तै महत्वपूर्ण अंग हो । हातमा लागेको चोटपटकलाई कहिल्यै बेवास्ता नगर्नुहोस् । सानो देखिने चोटले पनि भविष्यमा ठूलो समस्या र खर्च बढाउन सक्छ । जहाँ सम्भव हुन्छ, हातको समस्या भए ह्याण्ड सर्जन वा विशेषज्ञ चिकित्सकसँगै उपचार गराउनुहोस् । एकपटक बिग्रिसकेको हातको पुनः शल्यक्रिया झनै जटिल, महँगो र लामो पुनःस्थापना प्रक्रिया माग्ने हुन्छ । समयमै सही उपचार नै दीर्घकालीन समाधान हो