धेरै पटक मानिसहरूलाई राति सुतिरहेको बेला अचानक निन्द्रा खुल्ने समस्या हुन्छ। विशेषज्ञहरूका अनुसार यसको एउटा कारण खुट्टा चिसो हुनु पनि हुन सक्छ। जाडो मौसममा खुट्टा चिसो हुनबाट जोगिन सबैभन्दा सजिलो उपाय भनेको राति मोजा लगाएर सुत्नु हो। तर के यो बानी साँच्चै स्वास्थ्यकर छ? विज्ञानले यसबारे के भन्छ?
मोजा लगाएर सुत्दा निन्द्रा छिटो लाग्छ?
नेसनल स्लीप फाउन्डेसन लगायतका अनुसन्धानका अनुसार, खुट्टा न्यानो हुँदा मानिसलाई छिटो निन्द्रा लाग्न सक्छ। मोजा लगाउँदा खुट्टाको तापक्रम बढ्छ, जसले रगतका नसाहरू फैलाउँछ। यस प्रक्रियालाई ‘वेसोडाइलेसन’ भनिन्छ।
जब रगतको प्रवाह राम्रो हुन्छ, शरीर ‘रिल्याक्स मोड’ मा जान्छ र दिमागले निन्द्राको संकेत पाउँछ। यही कारणले मोजा लगाएर सुत्दा औसत १०–१५ मिनेट चाँडै निन्द्रा लाग्न सक्छ।
यसको वैज्ञानिक कारण के हो?
सुत्ने क्रममा शरीरको भित्री तापक्रम (कोर टेम्प्रेचर) बिस्तारै घट्नु आवश्यक हुन्छ। खुट्टा चिसो हुँदा शरीरले बाहिरी तापक्रम घटेको महसुस गर्छ र आफ्नो गर्मी जोगाउन प्रयास गर्छ। यसले कोर टेम्प्रेचर घट्न दिँदैन, जसले निन्द्रामा बाधा पुर्याउँछ।
मोजा लगाउँदा खुट्टा न्यानो रहन्छ, शरीर सुरक्षित र आरामको अवस्थामा छ भन्ने सन्देश दिमागमा जान्छ र निन्द्राको हर्मोन ‘मेलाटोनिन’ रिलिज हुन मद्दत गर्छ।
मोजा लगाएर सुत्नुका फाइदा
• निन्द्राको गुणस्तर सुधार
• रजोनिवृत्तिको समयमा हुने ‘हट फ्ल्यास’ कम हुन सक्छ
• फुटेको कुर्कुच्चा नरम हुन मद्दत
• रेनाड्स डिजिज भएका व्यक्तिमा चिसोबाट हुने समस्या कम हुन सक्छ
फुटेको कुर्कुच्चामा कसरी फाइदा गर्छ?
सुत्नुअघि खुट्टामा मोइस्चराइजर वा नरिवलको तेल लगाएर सफा, खुकुलो सुती मोजा लगाउँदा छालामा नमी कायम रहन्छ। यसले फुटेका कुर्कुच्चा बिस्तारै नरम र निको हुन मद्दत गर्छ।
के यो बानी सबैका लागि उपयुक्त छ?
मोजा लगाएर सुत्नु जाडो मौसम वा एसी भएको कोठामा बढी फाइदाजनक हुन्छ। तर गर्मी र ओसिलो मौसममा यसले पसिना बढाएर निन्द्रा बिगार्न सक्छ। त्यसैले यो व्यक्तिगत अनुभवमा भर पर्छ।
के टाइट वा सिन्थेटिक मोजा हानिकारक हुन्छ?
हो। धेरै टाइट वा सिन्थेटिक मोजाले पसिना थुनिन्छ, जसले फंगल इन्फेक्सनको जोखिम बढाउँछ। त्यसैले सुत्ने बेला सधैं सफा, खुकुलो, सुती वा ऊनको मोजा प्रयोग गर्नुपर्छ।
मोजा बाहेक खुट्टा न्यानो राख्ने उपाय
• सुत्नुअघि मनतातो पानीले खुट्टा धुने
• हल्का मालिस गर्ने
• कम्बलले खुट्टा राम्ररी छोप्ने
• सावधानीका साथ तातो पानीको बोतल प्रयोग गर्ने
एजेन्सीको सहयोगमा