कहिलेकाहीँ सुतेकै अवस्थामा मानिसको मृत्यु भएको खबर सुन्ने गरिन्छ। चिकित्सकहरूका अनुसार यस्तो घटना विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुटुरोग भएका व्यक्तिमा तथा स्लीप एप्निआ जस्ता समस्याका कारण जाडोयाममा तुलनात्मक रूपमा बढी देखिन्छ। तर, चिकित्सकहरूले आत्तिनु नपर्ने तर सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।
जाडोयाममा जोखिम किन बढ्छ ?
मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाका अनुसार चिसो मौसममा शरीर चिसोमा पर्दा रक्तचाप बढ्न सक्छ, जसले हृदयाघातको जोखिम बढाउँछ। तर जाडो महिनामै सबै खराब हुन्छ भन्ने होइन, अत्यधिक डराउनु आवश्यक छैन, उनी भन्छन्।
सुतेको अवस्थामा अचानक मृत्यु हुनुका सम्भावित कारणहरू:
- हृदयाघात ९ज्भबचत ब्ततबअप०
- मस्तिष्काघात ९क्तचयपभ०
- म्यासिभ पल्मोनरी इम्बोलिजम
- अचानक हुने कार्डिएक अरेस्ट
जाडोमा वा बिहानको समयमा हृदयाघातको घटना विश्वभर नै अलि बढी देखिने चिकित्सकहरूको अनुभव छ।
स्लीप एप्निआ के हो ?
स्लीप एप्निआ भनेको निद्रामा घाँटीको श्वासनली खुम्चिएर केही समयका लागि बन्द हुनु हो, जसले गर्दा मानिसले १० सेकेन्डदेखि १ मिनेटसम्म सास नफेर्ने अवस्था पटक–पटक दोहोरिन्छ। यो समस्या प्रायः तौल बढी भएका वयस्क पुरुषमा, घुर्ने बानी भएकामा बढी देखिन्छ।
स्लीप एप्निआका जोखिम
- हृदयाघात
- मुटुको चालमा गडबडी
- उच्च रक्तचाप
- मधुमेह
- मानसिक स्वास्थ्य समस्या
- अत्यधिक थकान
गम्भीर अवस्थामा निद्राकै बेला लामो समय सास रोकिँदा शरीरमा अक्सिजन घटेर हृदयाघातसम्म हुन सक्छ।
जोगिने उपाय के–के ?
चिकित्सकहरूले जाडोयाममा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्—
- जाडोमा न्यानो हुने बहानामा मदिरा सेवन नगर्ने
- हीटर वा चुल्हो बाल्दा झ्याल–ढोका बन्द नगर्ने
- मुटुरोग, दम, प्रेसर, सुगर वा मस्तिष्काघात भएका व्यक्तिले अझ बढी सतर्कता अपनाउने
- शारीरिक व्यायाम गर्दा बिस्तारै वार्मअप गरेर मात्र सुरु गर्ने
- नुन बढी खाने बानी नियन्त्रण गर्ने
- तौल बढ्न नदिने
- धेरै घुर्ने, दिनभर थकान हुने वा सास रोकिएको अनुभव भए चिकित्सकसँग जाँच गराउने
जाडोयाममा सुतेकै अवस्थामा मृत्यु हुने जोखिम केही बढे पनि सही जानकारी, जीवनशैली र सावधानी अपनाएमा यस्ता जोखिमबाट बच्न सकिन्छ।