पञ्चामृतमध्येको एक मानिने मह वा मधु स्वास्थ्यका लागि लाभदायी नै हुन्छ। तर मधुमेह लागेपछि हामी तर्सिन्छौं। आजीवन औषधि सेवन गर्नपर्छ भनेर मन बेचैन हुन्छ। त्यसमाथि बालबालिकालाई मधुमेह भयो भने त अभिभावकको मन नै भरंग हुन्छ।
मधुमेहका प्रकारमध्ये पहिलो, शिशुको शरीरको रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्ने इन्सुलिन नामक तत्त्व अभाव भएर हुन्छ। दोस्रो प्रकारको मधुमेह प्रायः ४०-५० वर्षको उमेर कटेपछि अस्वस्थकर जीवनशैली, पत्रु खाना, अत्यधिक तनाव, मोटोपना आदिका कारणले हुन्छ। यस्तो अवस्थामा शरीरको इन्सुलिनले राम्रोसँग काम गर्दैन। अन्य मुलुकतिर ४० को उमेरपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरका किशोरकिशोरीमा देखिन थालेको छ।
डा. अरुणा उप्रेती भन्छिन् केही अघि डा. ज्योति भट्टराईले आफ्नो क्लिनिकमा एक १६ वर्षका किशोर मधुमेहको समस्या भएर आएको सुनाउनुभएको थियो। रोजगारीका सिलसिलामा विदेशमा भएकी आमाले ती किशोरलाई माया देखाउन धेरै पत्रु खाना, चकलेट, चिसो पेयपदार्थ खान जोड दिने रहिछन्। किशोरका बुबाले पनि उनलाई घरको स्वस्थकर खाना खान कर नगर्ने रहेछन्।
पछि अनेक समस्या भएर जाँच गर्दा मोटोपन, अस्वस्थकर खाना र जीवनशैलीले उनलाई मधुमेह भएको पत्ता लाग्यो। सानै उमेरमा मधुमेह भएपछि उनलाई इन्सुलिन नै चलाउनुपर्यो। यसपछि बल्ल अभिभावकको पनि चेत खुल्यो।
इन्सुलिन दिएर, खानामा सुधार ल्याएर, मोटोपन घटाएपछि उनको मधुमेहको अवस्था सुधार हुँदै गयो। बिस्तारै इन्सुलिनको मात्रा पनि घटाउँदै लगियो र बन्द गरियो। अहिले उनी मधुमेहबाट मुक्त छन्। पहिले नै अभिभावकले ध्यान दिएको भए यो समस्या आउने नै थिएन। तर उनले भविष्यमा खानपान र जीवनशैली पुनः बिगारे भने यो समस्या बल्झिन सक्छ।
बुटवल घर भएका एक १४ वर्षीय किशोर पनि पत्रु खानाका कारण मधुमेहपीडित छिन्। निधारको घाउ निको नभएर जचाउँदा उनलाई दोस्रो प्रकारको मधुमेह भएको पत्ता लागेको थियो। उनले औषधिसेवन गरेर मधुमेह नियन्त्रणमा राखिरहेका छन्।
‘मधुमेह तेस्रो’
हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ र विश्व स्वास्थ्य संगठनले एक दिनमा एक पुरुषले नौ चम्चा र महिलाले ६ चम्चा चिनी मात्र खान भनेर सिफारिश गरेको छ। तर प्रति ३५५ मिलिलिटर चिसो पेयपदार्थमा ११ चम्चा चिनी हुन्छ। यस्तै, केक, कूकिज, पाउरोटी आदि खाँदा हामीले आवश्यकताभन्दा बढी चिनी सेवन गरिरहेका हुन्छौं। साथै, फलफूलको रस भनेर स्वास्थ्य बिगार्ने जूसहरू पनि चिनीले भरिपूर्ण हुन्छन्। जन्मदिन जस्ता उत्सवहरूमा पनि केक मार्फत हामी जानीनजानी बालबालिकाहरूलाई मधुमेहको समस्या दिइरहेका हुन्छौं।
मधुमेह लागेपछि मिर्गौला बिग्रने सम्भावना पनि हुन्छ। मिर्गौलाले काम गर्न छोडेपछि शरीरका अन्य अंग पनि शिथिल हुँदै जान्छन्। यस्तै, मधुमेहले बिर्सने रोग निम्त्याउन सक्छ भनेर पनि अनुसन्धान भइसकेको छ। यस्तो बिर्सने रोगलाई कतिपयले ‘मधुमेह तेस्रो’ भनी नामकरण गरेका छन्।
मोटोपन, मधुमेह र खानपानका कारण जनस्वास्थ्यमा परेको समस्यालाई सम्बोधन गर्न कतिपय देशले पहलकदमी पनि लिएका छन्। सिंगापुरमा त सन २०१७ मा प्रधानमन्त्री ली सियन लूङले नै मधुमेहको समस्याबारे बोलेका थिए। त्यहाँ हरेक नौमध्ये एक जनामा मधुमेह छ। ६० कटेका मानिसहरूमा हरेक १० मध्ये तीन जनालाई मधुमेह छ।
अहिले नेपालमै पनि गर्भावस्थाको जाँच गराउन अस्पताल पुगेका महिलाहरूलाई यौन रोग र मधुमेह दुवैको जाँच गराउने सल्लाह दिइन्छ। किनकि गर्भावस्थामा मधुमेह भएमा भविष्यमा त्यसले आमा र बच्चा दुवैलाई समस्यामा पार्न सक्छ। वेलैमा उपचार गरेमा आमा र शिशु दुवैलाई मृत्युबाट जोगाउन सकिन्छ।
तर कतिपय महिला अस्पताल वा स्वास्थ्य चौकी जान सक्दैनन्। पुग्नेहरूले पनि आवश्यक परामर्श पाउँदैनन्।
कुपोषितलाई पनि मधुमेह
मोटोपन भएकालाई मात्र मधुमेह हुँदैन। कुपोषितहरूलाई पनि मधुमेह हुन सक्छ। जस्तो- जनकपुरकी एक ३० वर्षीया महिलालाई दोस्रो प्रकारको मधुमेह देखियो। उनलाई कुपोषणका कारण मधुमेह भएको थियो।
अर्कातर्फ, आमालाई कुपोषण हुँदाहुँदै जन्मिएको बच्चालाई पनि मधुमेह हुन सक्छ। नेपालमा यसरी कुपोषित आमाबाट जन्मिने बच्चाहरू कति छन्? गाउँघरमा जन्मिने बच्चाहरूको अवस्था कस्तो छ? यसबारे त्यति चर्चा हुँदैन।
यूनिसेफको २०१९ को एक तथ्यांक अनुसार विश्वका प्रत्येक तीनमध्ये एक बालबालिका कुपोषणको शिकार छन्। दक्षिणएशियामा भने ५० प्रतिशत बालबालिका खराब पोषणको शिकार छन्। यस्ता बालबालिकालाई पछि मधुमेह वा उच्च रक्तचापको समस्या देखिने सम्भावना हुन्छ। डा. अरुणा उप्रेतीको फेसबुक बाट लिईएको