सास फेर्न गाह्रो हुनु वा ‘हावा भोक’ लाग्नु एक असहज अवस्था हो, जसमा व्यक्तिलाई फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको जस्तो महसुस हुन्छ। धेरैजसो अवस्थामा यो समस्या केही समयमै ठीक हुन सक्छ। तर लामो समयसम्म सास फेर्न गाह्रो भइरहेमा भने तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।
सास फेर्न गाह्रो हुनुका प्रमुख कारणमध्ये फोक्सो र मुटुसम्बन्धी रोग पर्दछन्। त्यस्तै डर, चिन्ता, तनाव जस्ता मनोवैज्ञानिक कारणले पनि यस्तो समस्या देखिन सक्छ। रगतमा हेमोग्लोबिन कम हुने एनेमिया भएमा पनि सास फेर्न कठिन हुन सक्छ।
१. धेरै शारीरिक श्रम गर्दा :दौडधुप, कडा व्यायाम वा भारी काम गर्दा शरीरलाई धेरै अक्सिजन चाहिन्छ। त्यसैले सास छिटो–छिटो फेर्नुपर्ने हुन्छ र केही समय सास फेर्न गाह्रो भएको जस्तो महसुस हुन सक्छ।
२. तनाव, डर वा चिन्ता: डर, चिन्ता वा अत्यधिक तनाव हुँदा पनि सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ। यस्तो अवस्थामा छाती कस्सिएको जस्तो लाग्ने, छिटो–छिटो सास फेर्नुपर्ने अनुभव हुन सक्छ।
३. फोक्सोसम्बन्धी समस्या: अस्थमा, निमोनिया, ब्रङ्काइटिस, एलर्जी वा वायु प्रदूषणका कारण फोक्सोमा समस्या आएमा सास फेर्न गाह्रो हुन सक्छ।
४. मुटुसम्बन्धी समस्या : मुटुको कार्यक्षमता कमजोर हुँदा शरीरमा पर्याप्त अक्सिजन पुग्न सक्दैन, जसले गर्दा सास फेर्न गाह्रो हुन सक्छ।
५. रगतको कमी (एनेमिया) : रगतमा हेमोग्लोबिन कम भएमा शरीरका अंगमा अक्सिजन कम पुग्छ, जसले गर्दा सास फेर्न गाह्रो हुन सक्छ।
६. मोटोपना वा शारीरिक निष्क्रियता: अधिक तौल वा धेरै समय शारीरिक रूपमा सक्रिय नहुँदा पनि सामान्य काम गर्दा नै सास फेर्न गाह्रो हुन सक्छ।
लक्षण
सास फेर्न गाह्रो हुँदा छाती दुख्ने, छाती कस्सिएको जस्तो हुने, घरघराहट आउने, थकान लाग्ने, मुटुको धड्कन बढ्ने, चक्कर आउने वा छिटो–छिटो सास फेर्नुपर्ने जस्ता लक्षण देखिन सक्छन्। यदि सास फेर्न गाह्रो हुने समस्या लामो समयसम्म रह्यो, इनहेलर प्रयोग गर्दा पनि सुधार भएन, सुत्दा झन् गाह्रो भयो, खुट्टा सुन्नियो वा ज्वरोसँगै यस्तो समस्या देखियो भने तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।
बच्ने उपाय
सासप्रश्वाससम्बन्धी समस्या कम गर्न धुम्रपान नगर्ने, धुलो–धुवाँ र प्रदूषणबाट टाढा रहने, नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने बानी उपयोगी हुन्छ। साथै, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउँदा पनि यस्तो समस्या हुने जोखिम कम गर्न सकिन्छ।
विशेषज्ञका अनुसार सास फेर्न गाह्रो हुने समस्या सामान्य जस्तो देखिए पनि यसले फोक्सो, मुटु वा रगतसम्बन्धी गम्भीर रोगको संकेत दिन सक्छ। त्यसैले यस्तो समस्या बारम्बार देखिएमा बेवास्ता नगरी समयमै स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ।