काठमाडौँ । आधुनिक जीवनशैली, असन्तुलित खानपान र शारीरिक निष्क्रियताका कारण मानिसको शरीर कमजोर बन्दै गएको छ। यसको प्रत्यक्ष असर मांसपेशीको शक्ति घट्नु, ढाड–कम्मर दुख्ने र पाचन समस्याका रूपमा देखिन थालेको छ।
यस्तो अवस्थामा योग प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएको छ। योगका विभिन्न आसनमध्ये ‘मयूरासन’ शरीरलाई मजबुत बनाउने शक्तिशाली अभ्यासका रूपमा परिचित छ। ‘मयूर’ र ‘आसन’ शब्द मिलेर बनेको यो आसन गर्दा शरीरको आकृति मयूरजस्तै देखिने भएकाले यसलाई मयूरासन भनिन्छ।
मयूरासनलाई उन्नत स्तरको ‘आर्म–ब्यालेन्सिङ’ आसन मानिन्छ, जसमा शरीरको सम्पूर्ण भार हातमा सन्तुलित गरिन्छ। कुहिनालाई पेटमा टिकाएर शरीरलाई जमिनबाट उठाइ सिधा राख्ने यो अभ्यासले मांसपेशीलाई बलियो बनाउनुका साथै सन्तुलन र एकाग्रता दुवैमा सुधार ल्याउँछ।
विशेषगरी, यो आसन पाचन तन्त्रका लागि लाभदायक मानिन्छ। कुहिनाले पेटमा दिने दबाबका कारण भित्री अङ्गहरू सक्रिय भई पाचन प्रक्रियामा सुधार आउँछ। ग्यास्ट्रिक, अपच र कब्जियतजस्ता समस्यामा यसले राहत दिन सक्छ। साथै, शरीरभित्रका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउने विश्वास पनि गरिन्छ।
कलेजो र मिर्गौलाको कार्यक्षमता सुदृढ बनाउन समेत मयूरासन उपयोगी हुने बताइन्छ।
यो आसन गर्दा सही विधि अपनाउनु अत्यन्त आवश्यक हुन्छ। सुरुमा घुँडा टेकेर बस्ने, हातका औँला खुट्टातर्फ फर्काएर राख्ने र कुहिनालाई पेटमा अड्याउँदै बिस्तारै शरीरको भार हातमा सार्ने अभ्यास गर्नुपर्छ। त्यसपछि खुट्टा सिधा फैलाउँदै शरीरलाई जमिनसँग समानान्तर बनाइ उठाउनुपर्छ।
सुरुआती अवस्थामा केही सेकेन्डबाट अभ्यास सुरु गरी क्रमशः समय बढाउनु उपयुक्त हुन्छ। कठिन आसन भएकाले योग प्रशिक्षकको निगरानीमा सिक्नु राम्रो मानिन्छ। उच्च रक्तचाप, हर्निया, मुटु वा पेटसम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरूले भने यो आसन नगर्न चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।