सामान्यतया महिनावारीको रगत रातो वा गाढा रातो हुन्छ। तर, कहिलेकाहीँ रगत कालो वा खैरो देखिँदा धेरै महिलाहरूमा चिन्ता र डर उत्पन्न हुने गर्छ। यस्तो अवस्थामा प्रश्न उठ्छ—के यो सामान्य हो वा कुनै स्वास्थ्य समस्याको संकेत ? स्वास्थ्य विज्ञहरूका अनुसार महिनावारीको रगतको रङ शरीरभित्र हुने प्रक्रिया, हर्मोनको अवस्था र रगत बग्ने गतिमा निर्भर हुन्छ।
महिनावारीको रगत कालो किन देखिन्छ ?
रगत लामो समयसम्म गर्भाशय वा योनीभित्र बसेर अक्सिजनको सम्पर्कमा आउँदा यसको रङ गाढा हुँदै कालो देखिन सक्छ। यसलाई ‘अक्सिडाइज्ड ब्लड’ भनिन्छ। विशेषगरी महिनावारी सुरु हुने पहिलो दिन वा अन्तिम दिनतिर यस्तो रङ देखिनु सामान्य मानिन्छ। तर, लगातार कालो रगत मात्र देखिएमा भने चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।
यी कारणले देखिन सक्छ कालो रगत
- रगत बग्ने गति ढिलो हुनु
- कम फ्लोका कारण रगत गर्भाशयमा लामो समय अड्किनु
- शरीरमा हर्मोन असन्तुलन हुनु
- महिनावारी ढिलो हुनु
कहिले चिन्ताजनक हुन्छ ?
एक–दुई दिन कालो रगत देखिनु सामान्य हुन सक्छ। तर, निम्न लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउनु आवश्यक छ :
- लगातार कालो रगत बगिरहनु
- योनीबाट दुर्गन्ध आउनु
- महिनावारीका बेला असामान्य रूपमा पेट दुख्नु
- असामान्य डिस्चार्ज हुनु
- यी लक्षणहरूले गर्भाशयको भित्री तहमा समस्या, ब्लकेज वा संक्रमण भएको संकेत दिन सक्छन्।
कालो रगतसँगै ढिक्का किन देखिन्छ ?
कालो रगतसँगै ढिक्का (क्लोट्स) देखिनुको अर्थ रगत लामो समयसम्म गर्भाशयमा बसेर डल्ला परेको हो। धेरै ब्लिडिङ हुने वा अनियमित महिनावारी भएको अवस्थामा यस्तो देखिनु सामान्य हुन सक्छ। तर, यो समस्या लगातार रहिरहेमा गर्भाशयमा गाँठो, हर्मोन असन्तुलन वा भित्री तहमा समस्या भएको संकेत हुन सक्छ।
के यो संक्रमणको संकेत हो ?
लगातार कालो रगत देखिनु पेल्भिक संक्रमण, यौन सम्पर्कबाट सर्ने संक्रमण वा योनी संक्रमणको संकेत पनि हुन सक्छ। यदि कालो रगतसँगै दुर्गन्ध, तल्लो पेट दुख्ने र असामान्य डिस्चार्ज देखियो भने तुरुन्त चिकित्सकीय परामर्श लिनुपर्छ।
हर्मोन र पीसीओएससँग सम्बन्ध
हर्मोन असन्तुलन वा पीसीओएस ९एऋइक्० भएको अवस्थामा ओभुलेसन अनियमित हुन्छ। यसले गर्दा महिनावारी ढिलो हुने, फ्लो अनियमित हुने र क्लोट्स बढी आउने हुन्छ, जसका कारण रगत कालो देखिन सक्छ।
गर्भपतन हुँदा पनि देखिन सक्छ
सुरुआती वा अधूरो गर्भपतनको अवस्थामा रगत र टिस्यु लामो समय गर्भाशयमा अड्किएर बाहिर निस्कँदा पनि रगत कालो देखिन सक्छ। यससँगै धेरै पेट दुख्ने, अत्यधिक ब्लिडिङ हुने र कमजोरी महसुस हुने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नु आवश्यक हुन्छ।
महिनावारीको रगत कालो देखिनु सधैं खतरनाक नहुन सक्छ। तर, लगातार असामान्य परिवर्तन देखिएमा यसलाई बेवास्ता गर्नु हुँदैन। रगतको रङले प्रजनन स्वास्थ्यबारे संकेत दिन सक्छ, त्यसैले कुनै असहजता महसुस भएमा समयमै चिकित्सकीय सल्लाह लिनु नै सुरक्षित उपाय हो।
एजेन्सीको सहयोगमा