शिरोधारा आयुर्वेदमा वर्णन गरिएको एक प्राचीन उपचार विधि हो। ‘शिरो’ भनेको टाउको र ‘धारा’ भनेको निरन्तर प्रवाह हो। यसमा निधारको बीच भागमा औषधियुक्त तेल, दूध वा अन्य तरल पदार्थ निश्चित समयसम्म लगातार बगाइन्छ। ‘शिरो’ अर्थात् टाउको र ‘धारा’ अर्थात् प्रवाह भन्ने अर्थ दिने यस विधिमा टाउकोमा निरन्तर रूपमा औषधियुक्त तरल पदार्थ बगाइन्छ। यसले शारीरिकसँगै मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। पहिले आयुर्वेदिक केन्द्रहरूमा सीमित रहेको शिरोधारा अहिले शहरी जीवनशैलीसँग जोडिँदै गएको छ। बढ्दो तनाव, अनिद्रा, माइग्रेन र मानसिक थकानबाट राहत खोज्नेहरूमा यसको लोकप्रियता बढ्दो छ।
शिरोधारा किन गरिन्छ ?
सामान्य रूपमा भन्नुपर्दा, शिरोधारा शरीरलाई आराम दिने र मस्तिष्कलाई रिल्याक्स गराउने प्राकृतिक उपचार विधि हो, जुन अहिले वेलनेस थेरापीको रूपमा पनि लोकप्रिय बन्दै गएको छ। शिरोधारा मुख्यतः शरीर र मनलाई शान्त बनाउने उद्देश्यले गरिन्छ। यसले टाउकोको स्नायु प्रणालीमा प्रभाव पारेर तनाव कम गर्न मद्दत गर्छ।
यसका प्रमुख कारणहरू:
- तनाव, एन्जाइटी र डिप्रेसन घटाउन
- अनिद्रा (निद्रा नलाग्ने समस्या) सुधार गर्न
- माइग्रेन र टाउको दुखाइ कम गर्न
- मानसिक शान्ति र एकाग्रता बढाउन
- शरीरका वात, पित्त र कफ सन्तुलन गर्न
शिरोधारामा प्रयोग हुने तरल पदार्थ स्वास्थ्य समस्याअनुसार फरक हुन्छ। वात दोषका लागि तेल, पित्तसँग सम्बन्धित समस्या—जस्तै टाउको दुखाइ, अनिद्रा वा माइग्रेन—का लागि चन्दन, दूध वा घिउ प्रयोग गरिन्छ। कफ प्रकृतिका समस्या, जस्तै डिप्रेसन वा टाउको भारी हुने अवस्थामा जडीबुटी मिसाइएको तेल, मोही वा मनतातो पानी प्रयोग गरिन्छ।
प्रक्रियाअनुसार बिरामीलाई सुताएर सुरुमा टाउको मसाज गरिन्छ। त्यसपछि निधारको बीच भागमा २० देखि ४५ मिनेटसम्म निरन्तर धारा बगाइन्छ। यस क्रममा आँखामा तरल पदार्थ नपरोस् भनेर विशेष सावधानी अपनाइन्छ। विशेषज्ञका अनुसार शिरोधाराले मस्तिष्क र स्नायु प्रणालीमा प्रभाव पार्दै तनाव हर्मोन घटाउन मद्दत गर्छ। यसले निद्राको गुणस्तर सुधार गर्ने, टाउको दुखाइ कम गर्ने, एकाग्रता बढाउने र मांसपेशीको थकान हटाउने जस्ता फाइदा दिन सक्छ।
यद्यपि सबैका लागि यो विधि उपयुक्त हुँदैन। छारेरोग, बेहोस हुने समस्या, निधारमा घाउ वा संक्रमण भएका व्यक्तिले शिरोधारा गर्न नहुने सुझाव दिइन्छ। साथै, मुटु सम्बन्धी रोग भएका वा मदिरा सेवन गरेको अवस्थामा चिकित्सकको सल्लाह आवश्यक हुन्छ।
सामान्य अवस्थामा हप्तामा वा महिनामा एकपटक गर्न सकिने यो थेरापी स्वास्थ्य समस्या अनुसार केही समय नियमित गर्नुपर्ने हुन सक्छ। परम्परागत विधि र आधुनिक आवश्यकता जोड्दै शिरोधारा वेलनेस क्षेत्रमा लोकप्रिय बन्दै गएको छ।