काठमाडौँ । गर्मी सुरु भएसँगै पेटसम्बन्धी समस्या बढ्न थालेका छन्। चिकित्सकहरूका अनुसार यो मौसममा बान्ता हुने, पखाला लाग्ने, एसिडिटी बढ्ने र पेटको संक्रमण हुने समस्या उल्लेखनीय रूपमा देखिन थालेको छ।
विशेषज्ञहरूका अनुसार धेरैजसोले यसलाई सामान्य मौसमी असर ठानेर बेवास्ता गर्ने गरे पनि यसको पछाडि पाचन प्रणालीको सन्तुलन बिग्रिनु मुख्य कारण हो। गर्मीका बेला शरीरमा प्रोबायोटिक्स अर्थात् राम्रो ब्याक्टेरियाको संख्या घट्न सक्छ, जसका कारण हानिकारक ब्याक्टेरिया छिट्टै बढेर पेटको संक्रमणको जोखिम बढाउँछन्।
चिकित्सकहरू भन्छन्, बाहिरको खाना खाने बानी, जंक फुडको अत्यधिक सेवन, कम पानी पिउने, पर्याप्त निद्रा नपुग्ने र अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गर्ने बानीले पेटसम्बन्धी समस्या झन् बढाइरहेको छ। तनाव र अव्यवस्थित जीवनशैलीले पनि आन्द्राको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने उनीहरूको भनाइ छ।
स्वास्थ्य विज्ञहरूले गर्मीमा पेटलाई स्वस्थ राख्न पर्याप्त पानी पिउन, मोही र कागती पानी सेवन गर्न, हल्का तथा फाइबरयुक्त खाना खान र दहीजस्ता प्रोबायोटिक खाद्य पदार्थ दैनिक आहारमा समावेश गर्न सुझाव दिएका छन्। काँक्रो, मूला लगायतका मौसमी फलफूलले शरीरलाई शीतल राख्नुका साथै पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्ने बताइएको छ।
विशेषज्ञहरूका अनुसार आन्द्राको स्वास्थ्य राम्रो हुनु भनेको केवल पाचन प्रणाली बलियो हुनु मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुनु हो। त्यसैले गर्मीको समयमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिएर पेटसम्बन्धी समस्याबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ।
स्वास्थ्यकर्मीहरूले समस्या लामो समयसम्म रहेमा वा गम्भीर लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिन आग्रह गरेका छन्।एजेन्सी