गर्भवती महिलामा उच्च रक्तचाप र गर्भकालीन मधुमेह (जेस्टेसनल डायबिटिज) देखिने समस्या पछिल्लो समय बढ्दै गएको स्त्रीरोग विशेषज्ञहरूले बताएका छन्। वंशाणुगत कारणसँगै ढिलो विवाह, बदलिँदो जीवनशैली, शारीरिक गतिविधिको कमी र खानपानमा आएको परिवर्तनका कारण पनि यस्ता समस्या बढिरहेको चिकित्सकहरूको भनाइ छ।
समयमै पहिचान र उपचार गर्न नसके उच्च रक्तचाप तथा मधुमेहले आमा र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्। गर्भधारण गर्नुअघि र गर्भ बसेपछि नियमित स्वास्थ्य परीक्षण गराएमा धेरैजसो समस्या नियन्त्रण गर्न सकिने उनीहरू बताउँछन्।
स्त्रीरोग विशेषज्ञहरूका अनुसार गर्भ रहनुअघि रक्तचाप सामान्य भएका महिलामध्ये करिब १० देखि १५ प्रतिशतमा गर्भावस्थापछि रक्तचाप बढ्ने समस्या देखिन सक्छ। विशेषगरी गर्भ रहेको २० हप्तापछि यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ।
उच्च रक्तचापले निम्त्याउन सक्छ जटिलता
गर्भावस्थामा देखिने उच्च रक्तचापमध्ये केही सामान्य भए पनि केही अवस्थामा यो ‘प्रि–एक्लाम्सिया’ हुँदै गम्भीर अवस्थामा पुग्न सक्छ। यस्तो अवस्थामा महिलालाई टाउको धेरै दुख्ने, आँखा धमिलो हुने, हातखुट्टा सुन्निने, पेटको माथिल्लो भाग दुख्ने जस्ता समस्या देखिन सक्छन्।
अवस्था झन् बिग्रिएमा ‘इक्लाम्सिया’ अर्थात् शरीर काँप्ने समस्या हुन सक्छ। चिकित्सकहरूका अनुसार यसले गर्भवती महिलाको ज्यान जोखिममा पार्नुका साथै समय नपुग्दै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना गर्न सक्छ। उच्च रक्तचापका कारण गर्भमा रहेको बच्चाको वृद्धि प्रभावित हुन सक्ने, तौल कम हुन सक्ने वा प्लेसेन्टासम्बन्धी समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
गर्भकालीन मधुमेह पनि बढ्दो क्रममा
गर्भावस्थामा आमाको शरीरमा हर्मोन तथा रक्तसञ्चार प्रणालीमा ठूलो परिवर्तन हुने भएकाले केही महिलामा मधुमेह देखिन सक्छ। यसलाई गर्भकालीन मधुमेह भनिन्छ।
चिकित्सकहरूका अनुसार गर्भावस्थाको २४ देखि २८ हप्ताभित्र मधुमेहको परीक्षण गराउनु आवश्यक हुन्छ। धेरैजसो महिलामा सुत्केरी भएको केही समयपछि चिनीको मात्रा सामान्य अवस्थामा फर्किए पनि केहीमा पछि गएर स्थायी मधुमेहको जोखिम रहन सक्छ।
कसलाई बढी जोखिम ?
चिकित्सकहरूका अनुसार निम्न अवस्थाका महिलामा गर्भकालीन मधुमेह र उच्च रक्तचापको जोखिम बढी हुन सक्छ–
- परिवारमा मधुमेह वा उच्च रक्तचापको इतिहास भएका
- विवाह वा गर्भधारण ढिलो भएका
- गर्भधारणअघि नै तौल बढी भएका
- शारीरिक गतिविधि कम भएका
- असन्तुलित खानपान गर्ने
- पहिलेको गर्भावस्थामा यस्ता समस्या देखिएका महिला
- यी संकेत देखिए सतर्क हुनुपर्ने
गर्भवती महिलामा :
- अचानक धेरै तौल बढ्नु
- अनुहार, हात वा खुट्टा अत्यधिक सुन्निनु
- अत्यधिक तिर्खा लाग्नु
- बारम्बार पिसाब लाग्नु
- अस्वाभाविक भोक लाग्नु
- टाउको दुख्नु वा आँखा धमिलो हुनु
जस्ता लक्षण देखिए चिकित्सकसँग परामर्श लिनुपर्ने विशेषज्ञहरूको सुझाव छ।
समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्ति
चिकित्सकहरूका अनुसार धेरै महिला समस्या बढिसकेपछि मात्र अस्पताल पुग्ने गरेका छन्। नियमित जाँच गराउने हो भने उच्च रक्तचाप र मधुमेहलाई औषधि, खानपान र जीवनशैली परिवर्तनबाट नियन्त्रण गर्न सकिन्छ।
“नियन्त्रणमा राख्न सकियो भने यस्तो समस्या भएका महिलाले पनि सामान्य गर्भावस्था पूरा गर्न सक्छन्। तर बेवास्ता गर्दा आमा र बच्चा दुवै जोखिममा पर्न सक्छन्,” चिकित्सकहरू बताउँछन्। गर्भावस्थामा नियमित रक्तचाप जाँच, रगतमा चिनीको परीक्षण, सन्तुलित आहार, पर्याप्त आराम र चिकित्सकको सल्लाहअनुसार हिँडडुल गर्नाले जोखिम कम गर्न सकिने विशेषज्ञहरूको सुझाव छ।