मनसुन सुरु भएसँगै हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस–ए लगायतका पानीजन्य तथा खाद्यजन्य रोगको जोखिम उल्लेख्य रूपमा बढ्ने भएकाले स्वास्थ्य विज्ञहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरेका छन्। यी रोगबाट बच्न अपनाउनुपर्ने मुख्य सावधानीहरू यस्ता छन्
१. सुरक्षित पानी मात्र पिउनुहोस्।
धारा, इनार, ट्यांकर, जार वा मिनरल वाटर जुनसुकै स्रोतको पानी भए पनि सकेसम्म फिल्टर गरी कम्तीमा १० मिनेट भकभक उमालेर मात्र पिउनुहोस्। घरबाहिर जाँदा सुरक्षित पानी बोतलमा बोकेर लैजानु राम्रो हुन्छ।
२. बाहिरको खाना सकेसम्म नखानुहोस्।
खानै परेमा भान्सा, भाँडा र खाना पकाउने वातावरण सफा भएको स्थान मात्र रोज्नुहोस्। काँचो वा पानीको प्रयोग बढी हुने परिकारभन्दा तातो र राम्रोसँग पकाइएको खाना सुरक्षित हुन्छ।
३. तरकारी र फलफूल सफा गरेर मात्र खानुहोस्।
तरकारी राम्ररी धोएर पूर्ण रूपमा पकाएर खानुहोस्। फलफूल पनि राम्रोसँग धोएर वा ताछेर मात्र सेवन गर्नुहोस्।
४. मासु राम्रोसँग पकाएर खानुहोस्।
सफा र विश्वसनीय स्थानबाट मात्र मासु खरिद गर्नुहोस्। राम्रोसँग नपाकेको मासु खाँदा विभिन्न संक्रमणको जोखिम बढ्न सक्छ।
५. वर्षायाममा स्विमिङ पुल प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।
पर्याप्त रूपमा सफा नगरिएका स्विमिङ पुलको पानीबाट हैजा, झाडापखाला, हेपाटाइटिस–ए, टाइफाइड तथा छालाका संक्रमण सर्न सक्छन्। त्यसैले वर्षायाममा अनावश्यक रूपमा पौडी खेल्नबाट जोगिनु उपयुक्त हुन्छ।
६. घरमा सरसफाइमा विशेष ध्यान दिनुहोस्।
वर्षाको पानीले फोहोर एक ठाउँबाट अर्को ठाउँमा बगाउने भएकाले घर फर्किएपछि जुत्ता–चप्पल सफा गर्नुहोस् र सकेसम्म बाहिरै राख्नुहोस्।
७. दूध उमालेर मात्र पिउनुहोस्।
दूधलाई राम्रोसँग उमालेर सेवन गर्दा संक्रमणको जोखिम कम हुन्छ।
८. पखाला लागेमा शरीरमा पानीको कमी हुन नदिनुहोस्।
दिनमा तीन पटक वा सोभन्दा बढी पातलो दिसा भएमा जीवनजल (ORS), सादा पानी, सुप, दालको रस तथा अन्य झोलिलो पदार्थ प्रशस्त पिउनुहोस्। आवश्यक परे तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
९. हैजामा सबैभन्दा ठूलो जोखिम डिहाइड्रेसन हो।
हैजा ख्ष्दचष्य अजयभिचबभ नामक ब्याक्टेरियाबाट हुने रोग हो। यसको उपचारमा एन्टिबायोटिक उपयोगी हुन सक्छ, तर धेरैजसो बिरामीको ज्यान शरीरमा पानीको मात्रा अत्यधिक घट्दा (डिहाइड्रेसन) जोखिममा पर्छ। त्यसैले समयमै जीवनजल र झोलिलो पदार्थ सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ।
१०. यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्।
चौलानीजस्तो लगातार पखाला लाग्ने, पानी वा जीवनजल पिउन नसक्ने, मुख सुक्ने, पिसाब कम हुने, छाला चिसो हुने वा बिरामी अत्यधिक कमजोर देखिएमा ढिला नगरी अस्पताल पुग्नुपर्छ। यस्ता अवस्थामा सलाइनमार्फत उपचार आवश्यक पर्न सक्छ।
११. व्यक्तिगत सरसफाइ अपनाउनुहोस्।
खाना खानुअघि, शौचालय प्रयोग गरेपछि र खाना पकाउनुअघि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने बानी बसाल्नुहोस्। आवश्यक परे स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ।
१२. समयमै उपचार गराउँदा ज्यान जोगाउन सकिन्छ।
हैजा र अधिकांश झाडापखालाको समयमै उपचार गरेमा निको हुने सम्भावना धेरै हुन्छ। त्यसैले पखाला वा बान्तालाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस् र आवश्यक परे तुरुन्त स्वास्थ्य संस्थामा पुग्नुहोस्।
मनसुनमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सुरक्षित पानी, स्वच्छ खाना, नियमित हात धुने बानी र व्यक्तिगत सरसफाइमा ध्यान दिनु नै सबैभन्दा प्रभावकारी उपाय हो।