काठमाडौँ । गर्मीयाममा तापक्रम बढ्दै जाँदा धेरै मानिसमा नाकबाट अचानक रगत बग्ने समस्या देखिन सक्छ। यस्तो अवस्था देख्दा धेरैजसो मानिस आत्तिने गर्छन्। तर अधिकांश अवस्थामा यो सामान्य समस्या भए पनि कहिलेकाहीँ भने गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ। त्यसैले नाकबाट रगत किन बग्छ, यस्तो बेला के गर्ने र कहिले चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ भन्ने जानकारी हुनु आवश्यक छ।
नाकबाट रगत किन बग्छ?
नाकभित्र अत्यन्तै साना र संवेदनशील रक्तनलीहरू हुन्छन्। गर्मी, सुक्खा हावा वा अन्य कारणले यी रक्तनली फुट्दा नाकबाट रगत बग्न सक्छ। चिकित्सा भाषामा यसलाई एपिस्ट्याक्सिस ९भ्उष्कतबहष्क० भनिन्छ।
गर्मीमा हावामा चिस्यान कम हुने भएकाले नाकको भित्री भाग सुक्खा हुन्छ। शरीरमा पानीको कमी ९डिहाइड्रेसन० हुँदा यो समस्या अझ बढ्न सक्छ। यसबाहेक नाकमा औँला हाल्ने बानी, एलर्जी, रुघाखोकी, चोटपटक, धूम्रपान, नेजल स्प्रेको अत्यधिक प्रयोग तथा रगत पातलो बनाउने औषधिको सेवनले पनि नाकबाट रगत आउने जोखिम बढाउँछ।
के यो कुनै रोगको संकेत हुन सक्छ?
कहिलेकाहीँ नाकबाट रगत बग्नु उच्च रक्तचाप, रगत जम्ने समस्या, प्लेटलेट्सको कमी, कलेजो वा मिर्गौलाको रोग, भिटामिन सी र के को कमी, नाकभित्र मासु पलाउनु वा ट्युमर तथा ब्लड क्यान्सरजस्ता रोगसँग पनि सम्बन्धित हुन सक्छ। यदि नाकबाट पटक–पटक रगत बग्ने समस्या छ भने यसको कारण पत्ता लगाउन चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।
कसलाई बढी जोखिम हुन्छ?
२ देखि १० वर्षका बालबालिका, ४५ वर्षभन्दा माथिका व्यक्ति, गर्भवती महिला, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, एलर्जी वा पिनासका बिरामी तथा रगत नजम्ने रोग भएका व्यक्तिमा नाकबाट रगत बग्ने जोखिम बढी हुन्छ।
नाकबाट रगत बग्दा के गर्ने?
नाकबाट रगत बगेमा सबैभन्दा पहिले आत्तिनु हुँदैन। सिधा बसेर टाउको हल्का अगाडि झुकाउनुपर्छ। त्यसपछि नाकको नरम भागलाई औँलाले १० देखि १५ मिनेटसम्म थिचिराख्नुपर्छ। यसबीच मुखबाट सास फेर्नुपर्छ। नाक वा निधारमा चिसो पट्टी राख्दा पनि रक्तनली खुम्चिएर रगत रोक्न मद्दत पुग्न सक्छ।
के नगर्ने?
धेरै मानिसले टाउको पछाडि झुकाउने गल्ती गर्छन्। यसो गर्दा रगत घाँटी हुँदै पेटमा पुग्न सक्छ, जसले वाकवाकी वा बान्ता गराउन सक्छ। त्यसैले टाउको पछाडि झुकाउनु हुँदैन। साथै नाक बल गरेर सफा गर्ने, नाकभित्र टिस्यु वा कपडा कोच्ने, बारम्बार नाक कोट्याउने तथा रगत रोकिएलगत्तै कडा शारीरिक काम गर्ने काम पनि गर्नु हुँदैन।
कहिले चिकित्सककहाँ जाने?
यदि १५ देखि २० मिनेटसम्म नाक थिच्दा पनि रगत नरोकिए, धेरै मात्रामा रगत बगे, पटक–पटक रगत आइरहे, चोटपटकपछि रगत आएको हो, सास फेर्न गाह्रो भयो वा चक्कर, कमजोरी र बान्ता जस्ता समस्या देखिए तुरुन्तै अस्पताल जानुपर्छ।
खानपान र जीवनशैलीमा ध्यान दिनुहोस्
पर्याप्त पानी पिउने, शरीरलाई हाइड्रेटेड राख्ने, काँक्रो, तरबुजा, सुन्तला, कागतीजस्ता पानी र भिटामिनयुक्त फलफूल खाने, हरियो सागसब्जी सेवन गर्ने तथा अत्यधिक पिरो, मसलेदार खाना, मदिरा र धूम्रपानबाट टाढा रहने बानीले नाकबाट रगत बग्ने जोखिम कम गर्न मद्दत गर्छ। घरभित्रको हावा धेरै सुक्खा भए ह्युमिडिफायर वा सलाइन नेजल स्प्रे प्रयोग गर्न सकिन्छ।
नाकबाट रगत बग्नु अधिकांश अवस्थामा सामान्य समस्या भए पनि यसलाई बेवास्ता गर्नु हुँदैन। विशेषगरी बारम्बार रगत बग्ने, धेरै मात्रामा बग्ने वा अन्य लक्षणसँगै देखिने अवस्था गम्भीर रोगको संकेत हुन सक्छ। गर्मीयाममा पर्याप्त पानी पिउने, नाकको स्याहार गर्ने र सही प्राथमिक उपचारको जानकारी राख्ने हो भने यस समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ।