काठमाडौं । पाठेघरको मुखको क्यान्सर नेपालका महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक बनेको छ। यसबाट हुने मृत्यु रोकथाम गर्न सकिने भए पनि नेपालमा हरेक दिन औसत चार महिलाले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउँछ।
ग्लोबल क्यान्सर अब्जरभेटरीको २०२२ को अनुमानअनुसार नेपालमा एक वर्षमा २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमण हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार लगातार हुने एचपीभी संक्रमण पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो। यही कारण क्यान्सरको जोखिम घटाउन किशोरी अवस्थामा एचपीभी खोपलाई प्रभावकारी उपाय मानिन्छ।
नेपालले २०२५ मा देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप दिएको थियो। अभियानमा १४ लाख ६० हजारभन्दा बढी किशोरीले खोप पाएका थिए र राष्ट्रिय स्तरमा करिब ९४ प्रतिशत कभरेज हासिल भएको WHO ले जनाएको छ। त्यसपछि एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको छ।
खोपसँगै स्क्रिनिङ पनि आवश्यक
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ तर खोप लगाएपछि क्यान्सरको सम्भावना पूर्ण रूपमा समाप्त हुँदैन। त्यसैले उमेरअनुसार नियमित स्क्रिनिङ, समयमै परीक्षण र शंकास्पद अवस्थामा उपचार आवश्यक हुन्छ।
WHO को २०३० सम्मको रणनीतिले ९० प्रतिशत किशोरीलाई १५ वर्ष पुग्दासम्म एचपीभी खोप, ७० प्रतिशत महिलालाई प्रभावकारी स्क्रिनिङ र क्यान्सर पहिचान भएका ९० प्रतिशत महिलालाई उपचारको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
पाठेघरको मुखको क्यान्सर पूर्ण रूपमा रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक भएकाले खोप, नियमित परीक्षण र समयमै उपचारलाई बेवास्ता नगर्न चिकित्सकको सुझाव छ।