काठमाडौं - कोरोनाभाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित देखिन्छ ।
संक्रमित व्यक्तिको नाक वा मुखबाट निस्किएको तरल पदार्थको कणबाट फैलिने भएकोले संक्रमित आमाले स्तनपान गराउंदा कुनै हानी नहुने देखिन्छ तर यसका लागि स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित देखिन्छ ।
स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई लाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ। संक्रमणको जोखिम कम गर्न राम्ररी हात धोएर तथा मास्क लगाएर स्तनपान गराउनुपर्ने हुन्छ ।
संक्रमणको लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ ।
आमा निकै नै अस्वस्थ भएको अवस्थामा पम्पको सहयोग लिएर सफा भाँडामा आमाको दूध सङ्कलन गरेर खुवाउनुपर्छ । र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ।
(युनिसेफ नेपाल र रजिस्टर्ड मिडवाइफ प्रशंसा बुढाको अध्ययनमा आधारीत)