उपभोक्ता अदालतबाट पछिल्लो समय अस्पताल र चिकित्सकहरुमाथि क्षतिपूर्ति तिराउने फैसला ? केही वर्षअघि साँखुकी एक ४५ वर्षीया महिलालाई पानी तताउँदा आगोले पोलेको थियो। झन्डै ४० प्रतिशत पोलेको देखेर अस्पतालहरुले भर्ना गर्न मानेनन्। आइसियुमा ‘पोलेको बिरामी राख्ने ठाउँ छैन’ भन्दै पन्छिए। ती महिला दिउँसो १२ बजे पोलिएकी थिइन्। बल्लतल्ल एक निजी अस्पतालमा राति ८ बजे भर्ना गरियो। केही डाक्टर साथीहरूलाई भनसुन गरेर। त्यहाँ पनि बिरामीलाई तलमाथि भए हर्जाना माग्ने छैन भनेर विश्वास दिलाउनुपर्यो।
ती महिला झन्डै एक महिना अस्पतालमै बसिन्। धेरै पैसा खर्च भयो। तै ज्यान जोगिएकोमा सबै खुसी भए। यो घटनाले मलाई धेरै समय झक्झकाइरह्यो। गम्भीर प्रकृतिका बिरामी भर्ना लिन अस्पतालहरू किन यसरी गाह्रो मान्छन्रु कारण प्रस्ट छ, उपचार क्रममा मृत्यु भए परिवारका सदस्य मात्र होइन, बाहिरका मान्छेसमेत झगडा गर्न आउँछन्। गुन्डा प्रयोग गरेर अस्पताल व्यवस्थापन र डाक्टर तर्साउने गरेको पाइन्छ।
डाक्टरले बिरामी उपचारमा बद्नियत राख्लान् भनेर नेताहरूले कसरी सोचे होलान्रु नसोचेका भए बद्नियत राख्ने डाक्टरलाई प्रावधानसहित तर्साउने कानुन ल्याउन तम्सने थिएनन्। डाक्टर र नर्सको काम सकेसम्म बिरामी निको पारेर पठाउनु हो। आफूले दिएको औषधि खाएर बिरामीको मृत्यु होस् भन्ने भावना कुनै स्वास्थ्यकर्मीको हुँदैन। उपकरण र औषधि अभावमा पनि सुत्केरी आमाको ज्यान बचाउन डाक्टरहरू तत्पर भएको हामी धेरैचोटि सुन्छौं। रगतको कमी भएर मर्न लागेका सुत्केरीलाई बझाङ, बाजुरामा डाक्टरले आफ्नै रगत दिएर बचाएका उदाहरण छन्।
डाक्टर भगवान होइनन्। कहिलेकाहीँ सम्पूर्ण शक्ति लगाउँदा पनि मुटु बिग्रेका बिरामी बचाउन सकिन्न। सुत्केरी आमाको लगातार रगत बगिरह्यो भने जोगाउन सकिँदैन। निमोनियाग्रस्त कुपोषित बालक अन्तिम अवस्थामा अस्पताल आउँदा ज्यान जोगाउन नसकिएको उदाहरण छ। असुरक्षित गर्भपतन गराएकी किशोरी अस्पताल आउँदा रगतमा विष फैलिइसकेको हुन्छ। डाक्टरले दिने औषधिले ज्यान जोगिँदैन। सडकबाट सय मिटर तल गाडी खसेर क्षतविक्षत घाइते यात्रु जोगाउन डाक्टरहरूलाई हम्मे पर्छ। तै ल्याकत र अनुभव प्रयोग गरेर बिरामीको ज्यान जोगाउन कस्सिएकै हुन्छन्।
त्यस्तो बेला बिरामीको मृत्यु भए बद्नियत भन्दै डाक्टरलाई कत्तिको जायज हुन्छ ? मानसिक बिरामी औषधि खान बिर्सन्छ। डिप्रेसन भएर आत्महत्या गर्छ। अब मनोचिकित्सकलाई बद्नियत राखेको भन्दै पैसा भराउने वा सजाय दिनु कालिकोट अस्पतालमा प्रसव पीडाले बेहोस युवतीको बच्चा निकाल्न तुरुन्तै शल्यक्रिया गर्नुपर्छ। यसमा शल्यचिकित्सक, बेहोस पार्ने डाक्टर, औषधि र उपकरणहरू चाहिन्छ। डाक्टरले समस्या पहिचान गरे पनि उपकरण र औषधि अभावमा शल्यक्रिया गर्न सकिन्न। उसले अन्यत्र ‘रेफर’ गरेर पठाउँछ। जाँदाजाँदै बाटोमा मृत्यु भए डाक्टरलाई ‘बद्नियत राखेर रेफर गरेको’ भन्दै सजाय दिनु मिल्ने कानुन कुन देशमा होला ।
यस्तो प्रावधानले अब कोही पनि डाक्टर मुटुको व्यथाले छट्पटाएका बिरामी छुनै तयार हुँदैन। रगतको आहालमा डुबेर बच्चाको सालनालसहित आएकी सुत्केरी उपचार गर्न कोही अघि सर्ने छैन। नाजुक बिरामीको मृत्यु हुँदा ‘बद्नियत राख्यो’ भन्दै तोडफोड गर्ने, डाक्टरविरुद्ध प्रहरी गुहार्ने अवस्था आए देशको स्वास्थ्य स्थिति के होला ? यस्तो बोझिल अवस्थामा कुन डाक्टरले सहज उपचार गर्न सक्लान्रु
यस्तो कानुनले डाक्टर र बिरामीबीच अविश्वासको खाडल सिर्जना गर्नेछ। ‘बद्नियत’ शब्दलाई डाक्टरी उपचारसँग जोडिन दिनु हुँदैन। हाम्रा नेताहरु हम्मेसी स्वदेशमा उपचार गराउँदैनन्। सानोतिनो रोग लाग्दा पनि उडेर विदेश जान्छन्। उनीहरूले ल्याउने कानुनको भुक्तमान हुने जनता हो। यसले बिरामीको उपचार गर्न कस्सिने आँटिला डाक्टरको हात बाँधिनेछ। केही भइहाले बद्नियत राखेको दोष खेप्नुपर्ला भनेर पहिल्यै सतर्क हुन्छन्। यो स्वास्थ्य सेवाको निम्ति सकारात्मक अवस्था हो ?
खानेकुरामा विष राख्ने व्यापारीलाई सरकार माया गर्छ, मान्छे कुल्चेर मार्ने गाडीचालकप्रति सरकारको सद्भाव छ, बिरामीको जीवन बचाउन तत्पर डाक्टरप्रति भने बद्नियत किन ?