काठमाडौँ । आफ्नै घरभित्र, आफ्नै आमाबुबाबाट बच्चा कुटिने र गाली खानुपर्ने अवस्था अहिले पनि धेरै परिवारमा देखिन्छ । धेरै अभिभावक अझै पनि कुटपिट, हप्काउने वा तर्साउने शैलीलाई “अनुशासनको उपाय” ठान्छन् । तर वास्तवमा यो कुनै पनि सकारात्मक प्यारेन्टिङ होइन — यो त अभिभावकत्वको अपरिपक्वता र अज्ञानताको संकेत हो ।
साँचो अभिभावकत्व भनेको बच्चालाई स्वतन्त्र रूपमा रमाउन दिने, सोध्न दिने र आफ्नो क्षमताअनुसार विकसित हुन वातावरण मिलाउने हो । शारीरिक सजाय त अभिभावकले आफ्नो असफलता स्वीकार गरेको प्रमाण हो । कुटपिट होइन, माया र संवाद चाहिन्छ अभिभावकत्वमा
गलत सोच र असर
धेरै अभिभावकले बच्चाको संवेदनशीलता बुझ्दैनन् । विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० का अनुसार, विश्वभर २ देखि १४ वर्षका करिब ६० प्रतिशत बच्चाले आमाबुबा वा हेरचाह गर्ने व्यक्तिबाट नियमित रूपमा शारीरिक दण्ड भोग्छन् ।
यस्तो व्यवहार किन हुन्छ भने — धेरै आमाबुबा आफ्नै मानसिक अवस्थाबारे सचेत हुँदैनन् । तनाव, निराशा वा अज्ञानताले गर्दा उनीहरू भावनात्मक रूपमा असन्तुलित हुन्छन् र त्यसकै नतिजा बच्चामाथि निकाल्छन् ।
कुटपिटले बच्चाको आत्मविश्वास घटाउँछ, डर, असुरक्षा र तनाव बढाउँछ । केही अवस्थामा भने बच्चा हिंस्रक र विद्रोही बन्छ । बालमस्तिष्क अत्यन्त संवेदनशील हुने भएकाले यस्तो अनुभवले उनको सोच्ने र सिक्ने क्षमतालाई स्थायी रूपमा असर गर्छ ।
पहिलो सात वर्ष
बच्चाको व्यक्तित्वको मूल ढाँचा सात वर्षभित्र तयार हुन्छ । यस अवधिमा पाएको माया, व्यवहार र बोलीले उनको सम्पूर्ण जीवनमा प्रभाव पार्छ । त्यसैले यस समयसम्मको अनुभव सुखद र सुरक्षित हुन जरुरी छ ।
कुटपिटको परिणाम
बच्चाहरूलाई कुटपिट गर्नु ठूलो अपराध हो । यसले बच्चाको मनोवैज्ञानिक र स्नायु प्रणालीमा स्थायी असर पार्छ । कुटपिटले बच्चाको जिज्ञासा मार्छ, प्रश्न सोध्ने क्षमता नष्ट गर्छ, र तिनीहरू या त डरपोक वा हिंसक बन्छन् ।
७ वर्षको उमेरसम्म बच्चाको व्यक्तित्वको आधार तयार भइसक्छ । यदि यो अवधिमा बच्चालाई कुटपिट गरियो भने, उसको जीवन सधैं प्रभावित हुन्छ ।
अभिभावकका लागि सन्देश
- बच्चा जब रोन्छ, कराउँछ वा खेल्दा कुरा बिगार्छ — त्यो उसको स्वाभाविक विकास प्रक्रियाको हिस्सा हो । त्यतिबेला रिस होइन, धैर्य आवश्यक हुन्छ ।
- उनीहरूलाई माया, समय र स्पर्श चाहिन्छ — पैसा वा उपदेश होइन । बच्चाको साथमा हाँस्दै, खेल्दै, सँगै सिक्दै समय बिताउनु नै सबैभन्दा ठूलो शिक्षा हो ।
- उपदेशभन्दा व्यवहारको प्रभाव बढी हुन्छ । त्यसैले बच्चालाई “कस्तो बन्ने” भनेर भन्नु भन्दा “आफैंले देखाउने” व्यवहार नै उनको मार्गदर्शक बन्ने हो ।
- गलत काम गरे पनि कुटपिट होइन, कारण बुझाउने प्रयास गर्नुपर्छ — “यो किन गलत होरु”, “यसको असर के हुन्छरु” भन्ने कुरा सिकाउनु नै शिक्षा हो ।