काठमाडौँ । हिजोआजको व्यस्त जीवनशैली, अनियमित खानपान बानी, अत्यधिक तनाव र व्यायामको कमीका कारण मुटु रोगको सिकार हुने मानिसको सङ्ख्या बढिरहेको छ । मुटु मांसपेशीबाट बनेको निकै महत्त्वपूर्ण अङ्ग हो । यसको काम सम्पूर्ण शरीरमा रगत आपूर्ति गर्नु हो ।
मुटुमा रगत पुर्याउने नलीहरूमा अवरोध हुँदा, रगत नपुगेको मुटुको भागका मांसपेशीहरू मर्न थाल्छन् । जसका कारण मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।
जब मुटुको कुनै भागको मांसपेशी रगतको कमीले मर्छ वा काम गर्न बन्द गर्छ, त्यसलाई हृदयाघात भनिन्छ । विश्वभर मुटु रोगबाट हुने धेरैजसो मृत्यु हृदयाघातका कारण हुने गरेको छ ।
मुटुलाई असर गर्ने केहि बानि
कोलेस्ट्रोल अनियन्त्रण
कोलेस्ट्रोललाई आफ्नो मुटुबाट टाढा राख्ने। कोलेस्ट्रोल बढ्यो भने मुटु रोगको जोखिम बढ्छ । त्यसैले, यदि तपाईंको रक्तचाप वा कोलेस्ट्रोल उच्च छ भने, यसलाई नियन्त्रण गर्न समयमै औषधि लिने र आफ्नो खानपिनको राम्रो ख्याल राख्ने।
धेरै प्रशोधित चिनीको सेवन
आजकल, हाम्रो मुटुको स्वास्थ्यलाई सबैभन्दा बढी हानि पुर्याउने कुरा भनेको प्रशोधित चिनी बढी खानु हो । धेरै गुलियो खाने लतका कारण मधुमेह, शरीर सुन्निने र मुटु कमजोर हुने जस्ता समस्याहरू देखा पर्दै छन् ।
यदि तपाईँले आफ्नो आहारबाट प्रशोधित चिनीलाई पूर्ण रूपमा हटायो भने भित्री बोसो, मधुमेह र समयपूर्व मुटु रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ । आफ्नो खानामा प्रशस्त फलफूल र तरकारीहरू समावेश गर्ने । तपाईँले जति कम प्रशोधित चिनी खानुहुन्छ, त्यति नै फलफूल स्वादिष्ट लाग्नेछ ।
धूम्रपानको सेवन
हृदयाघात भएपछि पनि बिडी–चुरोट पिइरहने धेरै बिरामीहरूको एक वर्ष भित्र मृत्यु हुन सक्ने रोमको एक अस्पतालका डाक्टर फुरियो कोलिभिचीले आफ्नो अनुसन्धानमा पत्ता लगाएका थिए । यसको अर्थ मुटु रोगीहरूका लागि धूम्रपान धेरै खतरनाक छ र उनीहरूले यसबाट पूर्ण रूपमा टाढा रहनु पर्छ । धूम्रपानका कारण हृदयाघात भएकाहरूले त झन् यो पिउनै हुन्न ।
कम व्यायाम गर्ने वा बसेर काम गर्ने
व्यायामको लागि समय ननिकाल्नु मुटुको लागि सबैभन्दा खराब कामहरू मध्ये एक हो । विज्ञहरूका अनुसार वयस्कहरूले हप्तामा कम्तीमा १५० मिनेट ९साढे दुई घण्टा० हल्का व्यायाम गर्नुपर्छ र दुई दिनसम्म मांसपेशी बलियो बनाउने व्यायाम पनि गर्नुपर्छ । तर इमानदारीपूर्वक भन्नुपर्दा थोरै यताउति गर्ने वा हिँडडुल गर्नु पनि केही न केही फाइदाजनक छ ।
लामो समयसम्म बसिरहनु स्वास्थ्यको लागि पनि राम्रो होइन, विशेष गरी मुटुको लागि । यसले धेरै रोगहरूको जोखिम बढाउँछ । लामो यात्रामा एकोहोरो बसिरहँदा स्वास्थ्य बिग्रिन सक्छ । आफ्नो मुटु स्वस्थ राख्न, धेरै हिँड्ने र कम बस्ने ।
निकोटिन तान्ने
कुनै पनि रूपमा श्वासप्रश्वासको माध्यमबाट निकोटिन शरीर भित्र पुर्याउनु स्वास्थ्यको लागि सुरक्षित हुन्न । हालैका वर्षहरूमा, भेपिङ, वा ई–चुरोटलाई चुरोटको सुरक्षित विकल्पको रूपमा प्रचार गरिएको छ । फोक्सोलाई हानी पुर्याउनुको अलावा, ई–सिगरेटमा रहेको निकोटिन जस्ता केही पदार्थहरूले मुटुलाई पनि हानि पुर्याउन सक्छ भनेर विज्ञहरू भन्छन् ।
दुखाइ कम गर्ने औषधिको बढी सेवन
टाउको दुखाइ वा अन्य पीडाले हामीलाई सताउँछ, हामी प्रायः डाक्टरलाई सोध्दै नसोधी आफैँ आइबुप्रोफेन र नेप्रोक्सेन जस्ता औषधि खान्छौं । तर यस्ता दुखाइ निवारक औषधि सेवन गर्नाले हृदयाघात र स्ट्रोकको जोखिम बढ्न सक्ने अनि जति लामो समयसम्म यस्ता औषधिको सेवन गरिन्छ जोखिम पनि त्यति नै बढ्छ भनेर २०१५ मै अमेरिकी स्वास्थ्य एजेन्सी एफडीएले चेतावनी दिएको थियो ।
तारेको खानेकुरा
फ्राइड चिकेन वा चीज हालिएको म्याकारोनी जस्ता चीजहरू खान्न भन्न त गाह्रै हुन्छ । तर यो सत्य हो कि यी र यस्तै धेरै अन्य खानेकुरामा स्याचुरेटेड फ्याट र धेरै चिनी हुन्छ । यो हाम्रो मुटुको लागि धेरै हानिकारक हुन्छन् । यस्ता खानेकुरा खाने मानिसहरूमा प्रायः हृदयाघात, उच्च रक्तचाप र मधुमेहको जोखिम बढी हुन्छ भनेर अनुसन्धानले पनि देखाएको छ । धेरै तारेको र गुलियो खानाको सेवन कम गर्नुहोस् । यो तपाईंको मुटुको स्वास्थ्यको लागि राम्रो हुन्न । एजेन्सी