प्याङ्क्रियाजले उत्पादन गर्ने इन्सुलिन मानव शरीरले उत्पादन गर्ने एउटा महत्त्वपूर्ण होर्मोन हो। यसको मुख्य कार्य रगतमा रहेको चिनी (ग्लूकोज)को मात्रा नियमन गर्नु हो ताकि शरीरले त्यसको भण्डारण तथा ऊर्जाका लागि उपयोग गर्न सकोस्। प्याङ्क्रियाजले कम इन्सुलिन उत्पादन गरेमा वा शरीरले त्यसको उचित उपयोग गर्न नसकेमा कैयन् स्वास्थ्य समस्या हुन सक्छ।
इन्सुलिनले कसरी गर्छ काम ?
- शरीरले खानालाई ग्लूकोजमा परिवर्तन गरिदिन्छ जुन शरीरको ऊर्जाको प्रमुख स्रोत हो।
- ग्लूकोज रगतमा मिसिन्छ र प्याङ्क्रियाजलाई थप इन्सुलिन निष्कासन गर्न सङ्केत गर्छ।
- इन्सुलिनले रगतमा रहेको ग्लुकोजलाई मांसपेशी, बोसो एवं कलेजोका कोषहरूमा पस्न मद्दत गर्छ ताकि ऊर्जाका निम्ति तिनको उपयोग हुन सकोस् वा तिनको भण्डारण हुन सकोस्।
- शरीरका कोषहरूमा ग्लूकोज पसेपछि रगतमा चिनीको मात्रा घट्छ र त्यसले प्याङ्क्रियाजलाई इन्सुलिन उत्पादन रोक्न सङ्केत जान्छ।
इन्सुलिन प्रतिरोध भनेको के हो?
इन्सुलिन प्रतिरोध भनेको मांशपेसी, बोसो र कलेजोका कोषहरूले इन्सुलिनप्रति देखाउनुपर्ने स्वाभाविक व्यवहार नदेखाएपछि उत्पन्न हुने जटिल प्रक्रिया हो। यो अवस्थामा ती कोषहरूले रगतबाट प्रभावकारी रूपमा ग्लुकोज सोस्न तथा भण्डार गर्न सक्दैनन्। त्यसो हुँदा रगतमा चिनीको मात्रामा उच्च बनिरहन्छ र प्याङ्क्रियाजले झन् धेरै इन्सुलिन उत्पादन गर्छ, यो अवस्थालाई हाइपरइन्सुलिनेमिया भनिन्छ।
कोषहरूले देखाउने कमजोर प्रतिक्रियालाई जित्ने गरि प्याङ्क्रियाजले पर्याप्त इन्सुलिन बनाउन्जेल रगतमा चिनीको मात्रा स्वस्थ्य स्तरमै रहन्छ। तर यदि कोषको प्रतिरोध बढ्यो भने रगतमा चिनीको मात्रा उच्च तहमा पुगिरहन्छ र त्यस्तो अवस्था लम्बियो भने टाइप टू डायबीटीजज तथा अन्य रोग निम्तिन्छ।
इन्डोक्राइनोलजी, डायबीटीज तथा इन्टर्नल मेडिसनसम्बन्धी विज्ञ तथा यूकेको न्याश्नल हेल्थ सर्भिसका कन्सल्ट्यान्ट फिजिसियन फ्र्याङ्कलिन जोसेफका अनुसार इन्सुलिन प्रतिरोध भनेको आनुवंशिक, जीवनशैली तथा वातावरणीय तत्त्वको मिश्रणले हुने एक जटिल प्रक्रिया हो।
यसको कारक हरेक व्यक्तिमा फरकफरक हुने गर्छ।
सन्तुलन मिलाउने के गर्ने ?
डायबीटीज भएका बेला व्रत बस्नु खतरनाक हुन सक्छ किनकि यसले अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ। व्रतले इन्सुलिन संवेदनशीलता सुधार्ने देखाएको चिकित्सक बताउँछन्, खास गरी इन्सुलिन प्रतिरोध तथा टाइप टू डायबीटीज भएकाहरूमा। कतिपय मानिसहरूले भने व्रतको समयमा तौल घट्ने र बोसोको परिमाणमा परिवर्तनको अनुभव गर्छन्। यी परिवर्तनले पनि इन्सुलिन संवेदनशीलता र मेटाबलिजम ९शरीरले खानाबाट ऊर्जा निकाल्ने रासायनिक प्रक्रिया०मा प्रभाव पार्छन्, मुख्यतस् मोटोपना भएका मानिसहरूमा।
व्रतले इन्सुलिन प्रतिरोध र मेटाबलिजममा व्यक्तिपिच्छे फरक असर पार्छ किनकि त्यो उमेर, लिङ्ग, शारीरिक अवस्था, खानपिनको रुचि अनि शारीरिक गतिविधिको स्तर जस्ता विभिन्न तत्त्वमा भर पर्छ। डायबीटीज भएका मानिसहरूले चिकित्सकसँग सल्लाह लिएर मात्र व्रत बस्नु उपयुक्त हुन्छ ।
दक्षिण भारतीय राज्य तमिलनाडुको भेलोरस्थित क्रिश्चन मेडिकल कलेज यूनिभर्सिटीका इन्डोक्राइनोजीका प्राध्यापक डा नीतिन कपुरका अनुसार केही अध्ययनले यसरी भोकै बस्नुको मेटाबोलिक फाइदा देखाएका छन्। निश्चित समय भोकै बस्दा तौल घट्न सक्छ र त्यसो हुँदा इन्सुलिन संवेदनशीलता तथा मेटाबलिजममा सुधार आउँछ।