पछिल्लो समय नेपालमा फिजियोथेरापीको आवश्यकता र महत्व बढ्दै गएको छ। विशेषगरी जोर्नी, मांसपेशी, नसा तथा हड्डीसँग सम्बन्धित समस्याहरूको उपचारमा यो प्रभावकारी विकल्प बन्न थालेको छ। आधुनिक जीवनशैलीका कारण थुप्रै मानिसहरू शारीरिक समस्याले पीडित भइरहेका छन्, जसको समाधानका लागि फिजियोथेरापी एक सुरक्षित, प्राकृतिक र औषधिविनाको विधि हो। फिजियोथेरापी कसरि काम गर्छ ? किन आवश्यक छ ? फिजियोथेरापी राम्रो फिजियोथेरापिस्ट वा सेन्टर कसरी पहिचान गर्ने ? यसै बारेमा एभरेष्ट अस्पतालका मस्कुलोस्केलेटल तथा स्पोर्ट्स फिजियोथेरापिस्ट डा. सुरज भुसालसँग गरेको कुराकानी आधारित् :
फिजियोथेरापी भनेको के हो ?
फिजियोथेरापी भन्नाले शरीरमा देखिने शारीरिक कमजोरी, दुखाइ, घाउ, पक्षघात, नसा सम्बन्धी समस्या तथा चलाखेलमा देखिने असहजतालाई सुधार गर्ने वैज्ञानिक उपचार विधि हो। यसमा विभिन्न प्रकारका एक्सरसाइज, मेसिनद्वारा गरिने थेरापी, हाते उपचार र जीवनशैली परिमार्जन समावेश हुन्छ। विशेष गरी यो २ प्रकार को हुन्छ।
१. इलेक्ट्रोथेरापी: यस्तो प्रकारको थेरापीमा करेन्टका तराङहरुको माध्यमबाट उपचार गरिन्छ
२. व्यायमथेरापी: विभिन्न व्यायम को माध्यमबाट उपचार गरिन्छ
किन आवश्यक छ फिजियोथेरापी ?
- औषधिको साइड इफेक्ट बिना उपचार।
- दीर्घकालीन समस्याको समाधान।
- सर्जरीको आवश्यकता कम गर्ने।
- दैनिकीमा स्वतन्त्रता कायम राख्न सहयोगी।
- के यो घरमै गर्न सकिन्छरु के बेफाइदा छन्रु
- केही सामान्य व्यायाम वा थेरापी घरमै गर्न सकिन्छ भने गम्भीर केसमा चिकित्सकको निगरानी अनिवार्य हुन्छ। विशेषज्ञले भने बमोजिम व्यायाम गरे छिटो रोग निकोहुने गर्छ।
बेफाइदाहरू
- गलत तरिकाले गरेमा चोटपटक वा स्थितिमा झन बिग्रिन सक्छ।
- योग्य फिजियोथेरापिस्ट नपाउँदा सुधार नहुन सक्छ।
राम्रो फिजियोथेरापिस्ट वा सेन्टर कसरी पहिचान गर्ने ?
- शैक्षिक योग्यता: BPT/Bachelor in Physiotherapy वा Master in Physiotherapy गरेकाले गर्नु पर्छ।
- अनुभव: अनुभवी थेरापिस्टको सल्लाह बढी भरपर्दो हुन्छ।
- सेन्टरको सुविधा: आधुनिक मेसिन, स्वच्छता, विशेषज्ञहरूको टोली।
- रोगीको प्रतिक्रिया: अरू बिरामीको प्रतिक्रिया र सिफारिस हेर्ने।
बिरामीले कुन कुरामा ध्यान दिनु पर्छ ?
- चिकित्सकको निर्देशनअनुसार मात्र व्यायाम गर्नु।
- नियमित थेरापी गर्नु।
- धैर्य राख्नु, सुधारमा समय लाग्न सक्छ।
- आफ्नो शरीरको अवस्था बुझेर मात्र अभ्यास गर्नु।
के बिरामीको संख्या बढ्दो छ ?
हो, पछिल्लो वर्षहरूमा लामो समय कम्प्युटरमा बस्ने बानी, मोटोपन, दुर्घटना तथा बुढ्यौलीका कारण शारीरिक समस्याहरू बढेका छन्। बिभिन्न रोगका कारण देखा पर्ने शारीरिक समस्याका कारण पहिले डाक्टर को सुझावमा मात्र थेरापीको लागि आउनी बिरामी बढी देखा पर्थे भने अहिले चाहिँ अरु बिरामीहरूको प्रतिक्रिया बाट प्रभावित भएर आफै अनुभव लिन आउनेको संख्यामा वृद्धि भएको देखिन्छ।
नयाँ प्रविधिहरू के-के आएका छन् ?
पहिले एक सानो कोठाबाट सुरु गरिएको फिजियोथेरापी सेवा आजको दिनमा क्षेत्रगत रूपमा मात्र नभई उपकरण र विशेषज्ञताको हिसाबले पनि उल्लेखनीय रूपमा विकसित भइसकेको छ। आधुनिक र अत्याधुनिक उपकरणहरूको प्रयोग, अनुभवी तथा दक्ष फिजियोथेरापिस्टहरूको उपस्थितिले यो सेवा गुणस्तरीय बन्दै गएको छ। साथै, केन्द्रहरूको डिजाइन, सेवा प्रवाहको व्यवस्थापन र उपचारको प्रविधिमा पनि निरन्तर सुधार हुँदै गएको छ, जसले गर्दा फिजियोथेरापी अझ प्रभावकारी र विश्वसनीय बन्दै गएको छ।
फिजियोथेरापी नेपालमा स्वास्थ्य प्रणालीको अभिन्न हिस्सा बन्दै गएको छ। फिजियोथेरापी सबै किसिमका रोगको निवारणका लागि प्रभावकारी हुन्छ । समयमै उपयुक्त थेरापी लिने हो भने धेरै समस्याको समाधान औषधि वा सर्जरी विना नै सम्भव हुन्छ। यसका लागि जनचेतना अभिवृद्धि र योग्य जनशक्तिको आवश्यकतालाई प्राथमिकता दिन जरुरी छ।