टन्सिल प्राय बच्चा उमेरदेखि नै सुरु हुने भएपनि उमेर ढल्कदैं जाँदा यस समस्या बढ्दै जान्छ । टन्सिल नाक, कान घाँटीमा असर गर्ने एक प्रकारको डल्लो हो, जुन हाम्रो शरीरमा नै हुन्छ । टन्सिलले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ । टन्सिल जिब्रो पछाडी रहेको घाँटीको भागमा हुने गर्छ । प्राय टन्सिल भन्नेबितिकै घाँटीमा हुने भन्ने बुझिन्छ । तर नाक पछाडीतर्फको भागमा पनि टन्सिल हुने गर्छ । मुख्यतया बच्चाहरुलाई धेरै असर गर्ने टन्सिल घाँटीमा हुने गर्छ ।
टन्सिल हुनुका कारण
नेपाल लगायत दक्षिण पूर्वी एसियाका मुलुकहरुमा चिसोका कारण टन्सिल बढेको पाइन्छ । चिसो एक प्रकारको एलर्जी पनि हो । धुँलो धुवाँ तथा घाँटीमा चिसोले संक्रमणका कारण टन्सिल बढ्दै जान्छ । बच्चालाई चिसोले आक्रमण गरेंसँगै भाइरल सुरु हुने गर्छ । जसकारण टन्सिलको समस्या बढ्छ ।भाइरल सुरु भएसँगै किटाणुहरुका कारण पाक्न थालेपछि टन्सिलले समस्या ल्याउने गर्छ।
टन्सिलका लक्षण
- शरीरमा उच्च तापक्रम देखापर्नु,
- सुक्खा खकार आउनु,
- जिउ काँप्ने गरी ज्वरो आउनु,
- स्वास गन्हाउनु,
- गला भित्रको भाग रातो हुनु,
- आवाज भारी हुनु ,
- खाना निल्न गाह्रो हुनु ।
बालबालिकालाई टन्सिल भएपछि कस्तो खानेकुरा खुवाउने, कस्तो नखुवाउने
- अमिलो, पीरो र चिसो खानेकुरा नखुवाउने ।
- खानामा तेल मसला कम प्रयोग गर्ने ।
- बालबालिकाको खानेकुरामा सागपात, गेडागुडी लगायत सम्पूर्ण खानेकुराहरु समावेश गर्ने ।
- साँझको समयमा बच्चालाई ननुहाउँने ।
- भुइँकटहर, केरा, सुन्तला नखाने ।
- आरुबखडा, खरबुजा, मेवा र स्याउ पनि नखाने ।
के टन्सिल भएका बालबालिकालाई मुटु रोग लाग्छ
पहिला पहिला मुटु रोग लागेका बालबालिकाहरुलाई मुटु रोगको समस्या धेरै नै देखा पर्ने गथ्र्यो । जसकारण बालबालिकाको मुटुको भल्भहरु सुन्निने तथा खराब हुने गथ्र्यो ।
अहिले मानिसहरुमा आएको स्वास्थ्य चेतनाका कारण यस्तो समस्या कम हुँदैं गएको पाइन्छ । आजभोली धेरैजसो बालबालिकाहरुमा टन्सिल हुन भन्दा अगाडि नै उपचार हुने भएकोले टन्सिलका कारण हुने मुटु रोग कम भएको पाइन्छ ।
टन्सिल पछिको उपचार
बच्चालाई रुघाखोकी लागेर टन्सिलको सुरुवात हुने गर्छ । घाँटी दुख्नुका साथै ज्वरोसमेत अत्याधिक आउने गर्छ । बच्चा बिरामी भएपछि अभिभावकले उनीहरुलाई उपचारका लागि मेडिकल तथा अस्पतालले लैजाने गरिन्छ । सकेसम्म यस्तो अवस्थामा बच्चाहरुलाई एन्टिबायोटिक खुवाउनु हुँदैंन । अन्तिम अवस्थामा चिकित्सकको सल्लाह बमोजिम ५ देखी ७ दिनसम्मको लागि एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ ।
यदि बच्चाले घाँटी दुख्यो भनेको अवस्थामा त्यसको कारण पत्ता लगाई उपचार गर्नुपर्ने हुन्छ । बच्चाले टन्सिल भएपछि विभिन्न लक्षणहरु देखाएसँगै ती लक्षणहरुलाई कम गर्नुपर्ने हुन्छ । टन्सिलका कारण अत्याधिक दुखाई भएको छ भने सर्वप्रथम ती दुखाईलाई कम गर्नुपर्ने हुन्छ ।
ज्वरो आएको अवस्थामा ज्वरो कम गराउनका लागि औषधि दिनुपर्ने हुन्छ । यदि घाँटी कुल्ला गर्न सक्ने बच्चा छ भने कुल्ला गर्नका लागि औषधि दिनुपर्ने हुन्छ ।
पटक-पटक टन्सिल भइरहे शल्यक्रिया गरेर यसलाई निकाल्नु नै उचित हुन्छ। वर्षमा तीन/चार पटक टन्सिल पाकिरह्यो भने यसलाई निकाल्नु पर्छ। दुई वर्षमा तीन पटकसम्म वा पाँच सात वर्षसम्म बर्सेनि टन्सिल पाकिरहे पनि यसलाई शल्यक्रियामार्फत झिकेर फ्याक्नु राम्रो हुन्छ ।