हाम्रो शरीरमा हर्मोन उत्पादन गर्ने ग्रन्थीलाई इन्डोक्राइन ग्रन्थी भनिन्छ, जसमा प्याङ्क्रियाज महत्त्वपूर्ण हो। यसले इन्सुलिन र ग्लुकागोन हर्मोन उत्पादन गर्छ। इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ भने ग्लुकागोनले चिनीको मात्रा कम हुँदा बढाउन मद्दत गर्छ।
रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भए मधुमेह (डायबिटिज) हुन्छ भने कम भए ‘हाइपोग्लाइसेमिया’ भनिन्छ। सामान्यतया खाली पेटमा १२५ mg/dL भन्दा कम र खानापछि २०० mg/dL भन्दा कम हुनुपर्छ।
मधुमेह इन्सुलिनको कमी वा यसको प्रभाव घट्दा हुन्छ। यसले दीर्घकालमा मुटु, मिर्गौला, आँखा र स्नायुमा गम्भीर असर पार्न सक्छ।
प्रकारहरू
टाइप–१, टाइप–२ र गर्भावस्थामा हुने गेस्टेसनल डायबिटिज मुख्य प्रकार हुन्। तीमध्ये टाइप–२ सबैभन्दा धेरै (९०–९५%) मा देखिन्छ, जसको कारण तौल वृद्धि, निष्क्रिय जीवनशैली र वंशाणुगत तत्व हुन्।
लक्षणहरू
धेरै भोक र तिर्खा लाग्नु, बारम्बार पिसाब लाग्नु, तौल घट्नु, थकान, मुख सुक्नु, छाला सुख्खा हुनु, दृष्टि धमिलो हुनु आदि प्रमुख लक्षण हुन्।
नियन्त्रणका उपाय
फाइबरयुक्त खाना सेवन, नियमित व्यायाम, तौल नियन्त्रण, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र नियमित रगत परीक्षणले मधुमेह नियन्त्रणमा राख्न सकिन्छ।
सन्तुलित आहार, सक्रिय जीवनशैली र समयमै परीक्षणले मधुमेहबाट हुने जटिलता कम गर्न सकिन्छ।