काठमाडौँ । पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको मृत्यु हुन्छ । यो संख्या नेपालमा वर्षभरीमा हुने कुल मृत्युको करिब १८ प्रतिशत हो ।
स्टेप्स सर्भे २०१९ का अनुसार नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत नागरिक सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेका छन् । त्यसमा पुरुषको प्रतिशत मात्रै र्हेने हो भने ४८.३ र महिलाको प्रतिशत हेर्ने हो भने ११.६ रहेको छ ।
नेपाल धुवारहितको सुर्तीजन्य पदार्थको प्रयोग बढी हुने देशको सूचीमा पनि अगाडी छ । विश्वव्यापी रुपमा धुवारहित सुर्तीजन्य पदार्थको प्रयोग ४ प्रतिशत छ तर नेपालमा भने यसका प्रयोगकर्ता १८ प्रतिशत रहेको छ ।सुर्तीजन्य पदार्थको प्रयोगदर नियन्त्रणमा नआउँदा नसर्ने रोगको जोखिम बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । बढ्दो जोखिमसंगै मृत्युदरको रेखा पनि उकालो चडेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन् ।
त्यसो त विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग र त्यसबाट भईरहेको उच्च दरको मृत्युलाई रोक्न सकिने मृत्युको रुपमा परिभाषित गरेको छ । सुर्तीजन्य पदार्थको सेवनको उपभोग घटाउँदै जाँदा मृत्युको डरलाग्दो तथ्यांक क्रमश घट्दै जाने सुर्तीजन्य पदार्थबिरुद्धको अभियानमा क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन् ।
सुर्तीजन्य पदार्थको उपभोग कम हुँदा मृत्युको डरलाग्दो तथ्यांक घटाउन सकिन्छ । तर नेपालमा अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्त केसी बताउँछन् ।
उनी भन्छन्, सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण स्वास्थ्य समस्या बढ्दै गएको र सोही दरमा मृत्युदर पनि बढिरहेको छ तर यसमा करको दर बढाउँदा मूल्य महँगो हुन्छ र थोरै व्यक्तिले मात्र सेवन गर्न सक्छन् जसले स्वास्थ्य समस्या र मृत्युदर घटाउन मदत पुग्छ । त्यसैले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन कर वृद्धि आवश्यक छ ।
नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३४/३५ प्रतिशत मात्रै छ । नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लिँदै आएको कर दक्षिण एसियामै सबैभन्दा न्यून हो । भारतमा सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर छ । यस्तै, सुर्तीजन्य पदार्थमा पाकिस्तानले ६१ प्रतिशत, बंगलादेशले ७३ प्रतिशत कर छ भने श्रीलंकाले ७७ प्रतिशत लाग्दै आइरहेको छ । तर विश्व स्वास्थ्य संगठनले भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्याउँन सुझाव दिदै आएको छ ।
यसबीचमा डा.केसीले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून उत्कृष्ठ बनाए पनि कार्यान्वयनमा समस्या भएको समेत जोडे । ‘नेपालको कानुन राम्रो छ। तर कार्यान्वयनमा समस्या छ। कार्यान्वयन राम्रो संग हुने हो भने सूर्तीेजन्य पदार्थ नेपालमा प्रतिवन्ध सरह नै हुन्छ’।
हामीले त्यसलाई पूर्ण कार्यान्वयनका लागि पहल गरिरहेका छौँ । सुर्तीजन्य पदार्थ नियन्त्रणका बनेका ६ रणनीतिमा रहेर कामहरु भईरहेको छन् । उनले भने । त्यसो त मन्त्रालयले यसपटक सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत नै पुर्याउने अर्थ मन्त्रालयलाई सुझाव पेश गरेको छ । स्वास्थ्यको सुझावलाई अर्थले कत्तिको कार्यान्वय गर्छ त्यो भने दुई साता पछि आउने बजेट कार्यक्रमबाटै थाहा हुनेछ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो
नसर्ने रोगको प्रकोप विश्वव्यापी रुपमा बढ्दो छ । त्यसबाट नेपाल अछुतो रहने कुरै भएन । नेपालमा पनि यसको प्रकोप दिनानुदिन बढ्दो छ । त्यसको प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थ रहेको विज्ञहरु बताउँछन् ।
बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला भन्छन्, नसर्ने रोगहरूको एक प्रमुख कारकको रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोगले हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, क्यान्सर र मधुमेह निम्त्याउन सक्छ। यसबाहेक, सुर्तीजन्य पदार्थको प्रयोगले निम्त्याउने रोगको उपचारमा लाग्ने ठूलो वित्तीय तथा आर्थिक भारका साथै, यसबाट हुने मृत्यु र अपाङ्गताका कारण मानव पूँजीमा पर्न जाने क्षति पनि उत्तिकै छ।
उनले नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण जरुरी रहेको बताए । उनले त्यसका लागि सुर्तीजन्य पदार्थमा करको दर बढाउन पर्ने सुझाव दिए । नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर ज्यादै न्युन छ, सस्तो हुँदा सबैको पहुँच छ । चुरोट सेवनबाट लाग्ने मुटु रोग त गरिब व्यक्तिका लागि रैछ । त्यसैले चुरोट एवं सुर्ती सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपबाटै बहिष्कार गरौं । उनले भने ।
अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै गएको छ । पछिल्लो १० वर्षयता सुर्तीजन्य पदार्थमा बढेको सबैभन्दा न्यून कर वृद्धि भएको छ । सुर्तीजन्य पदार्थमा मूल्य १० प्रतिशतले बढ्दा खपत सरदर ६ प्रतिशतले घट्ने अध्ययनमा उल्लेख छ। सूर्तीेजन्य पदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा सरकार त्यस प्रति गम्भिर हुन जरुरी रहेको छ ।