सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ । सामान्य रुपमा लिइने एलर्जीलाई हेलचेक्राई गरियो भने ज्यान पनि लिन सक्ने चिकित्सक बताउँछन् ।
अध्ययनका अनुसार वयष्कमा भन्दा बालबालिकाहरुमा बढी एलर्जी हुने देखाएको छ । बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयष्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको अध्ययनबाट देखिन्छ ।
एलर्जी विभिन्न कारणले हुने चिकित्सक बताउँछन् । मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने चिकित्सक बताउँछन् । वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सन्जुबाबु श्रेष्ठका अनुसार खाना, धुलो, फुलको कण, बनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ । एलर्जी शरीरको जुनसुकै भागमा हुने भएपनि खुला भागमा बढी एलर्जी देखिने गरिन्छ ।
एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुरा प्रति तत्काल प्रतिक्रिया जनाउँछ। कुनै बाहिरी तत्व अथवा शरीरको बनावटमा भएको केही समस्याले कुनै पनि तत्व हाम्रो शरीरसँग मिल्न सकेन अथवा शरीरले लिन सकेन भने शरीरले एउटा आचरण देखाउँछ। त्यसलाई साधारणतय एलर्जी भनिन्छ।
त्यस्तो बेला किसिमको लक्षण देखापर्न थाल्छ। जस्तै, चिलाउने, कसैलाई खोकी लाग्ने, हाच्छिउँ आउने, शरीर सुन्नीने, कसै-कसैलाई झाडापखला लाग्ने, बान्ता हुने हुन्छ। नाक चिलाउने, पिनास हुने, हाच्छिउ आउने फोक्सोमा हेर्ने हो भने आज्मा, दम पनि एक किसिमको एलर्जी हो।
छाला सुन्निने, रातो भएर चाक्ला\चाक्ला जस्तो हुने, त्यसबाटै पिप निस्किने पाक्ने जस्ता समस्या देखापर्छ। कहिलेकाहीँ त ओठ सुन्निने, आँखा सुन्निने, जिब्रो सुन्निने, श्वासको नली, भित्री ग्रन्थी पनि सुन्निने भएकाले त्यसलाई लापरबाही गर्नु हुँदैन। यस्तो अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ। एलर्जी वंशानुगत कारण तथा संक्रमणले समेत हुन्छ।
किन हुन्छ एलर्जी ?
बाहिरी वातावरणमा धेरै प्रकारका रसायन र प्रदुषण छन् । प्रदुषण र रसायनमको छालामा सम्पर्क भएपछि शरीरबाट हिस्टामिन भन्ने तत्व विकास हुन्छ । “एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ। हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो, त्यहीँ एलर्जी हुन्छ । मास सेल सबैभन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ ।
चिकित्सकका अनुसार छालामा एलर्जी भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाछ्यूँ आउने, श्वास नलीमा भए खोकी र दम हुने, छालामा भए चिलाएर डाबर आउने र आँखामा एलर्जी भए आँसु आउने हुन्छ ।
यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ, जसका कारण जुन एलर्जीको कारण श्वास फेर्न गाह्रो हुन्छ । पहिचान छालामा आउने सबै डाबर वा चिलाउने समस्या एलर्जीको कारणले गर्दा नहुन पनि सक्छ । दीर्घरोगी जस्तै किड्नी, कलेजो, मुटु, हेपटाइटीस र मधुमेहका रोगीहरुलाई चिलाउने समस्या आउन सक्छ । त्यसैले चिकित्सकले सुरुमा कुनै दीर्घरोगको समस्या छ कि छैन भनेर विरामीलाई हेर्नुपर्छ ।
कहिलेकाँही खानेकुरा, कीराको टोकाइ, कुनै धातुको प्रयोगले एलर्जी हुने गर्दछ । छालाको एलर्जी रगतको जाँच गरे पनि पत्ता लगाउन सकिन्छ । कुनै बेला एलर्जीक टेस्ट गरे पनि के कारणले गर्दा एलर्जी भएको भन्ने पहिचान हुने गरेको छ् । उपचार सुरुमा एलर्जी हुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि मात्रै एलर्जीको उपचारमा सहज हुने चिकित्सक बताउँछन् ।
पहिलोपटक एलर्जी भएको हो भने उपचारले निको हुन सक्छ । तर, क्रोनिक एलर्जी छ भने निको नहुने र पछिसम्म पनि औषधि खाएर बस्नु पर्नेहुन्छ । त्यसकारण जुन कुराबाट एलर्जी हुन्छ, त्यो कुराबाट टाढा बस्दा यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तर कतिपय अवस्थामा के कारणले एलर्जी भयो भन्ने कुरामा थाहा हुँदैन ।